हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली


१६ पुष २०७८, शुक्रबार
himpahiro11

म्याग्दी । एक जना बेपत्ता हुने गरी धवलागिरी गाउँपालिका-१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहीबार नेपाली सेनाको टोली फर्किएको छ ।

गुर्जाको सुकेलट्टेमा हिमपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए ।

काठमाडौंबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । उनका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजीका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पुर्याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो ।

करिब चार/पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए । गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएर क्षति भएको उनले जानकारी दिए ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ । छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिंड्नु पर्छ । पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाइएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७