राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल


१६ पुष २०७८, शुक्रबार
Rajendra Rabinra

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ ।
अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उनकै निवास पुगेका हुन् । भेटमा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको राप्रपा महामन्त्री डा. राणाले बताए । समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको उनको भनाइ छ ।

विवेकशील साझा पार्टी हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सकारात्मक देखिएकाले लिङ्देनले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका हुन् । अहिले सामान्य रुपमा छलफल भएको र आगामी दिनमा पुनः भेट गरेर छलफल गर्न सकिने महामन्त्री राणाले बताए । दुवै पार्टीका नेताहरुले यसलाई मिलेर हिँड्ने सुरुवाती बिन्दु भनेका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले गत साउनमा एउटा दस्तावेज ल्याएर संघीयता खारेज गर्नुपर्ने बताएका थिए । उनले आफूलाई हिन्दु धर्म र राजतन्त्रको पक्षमा पनि उभ्याएपछि राप्रपाले एकता प्रस्ताव अघि सार्न लागेको हो। मिश्रले दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने बताएका थिए । अध्यक्ष लिङ्देनले राप्रपा अध्यक्ष भएपछि राजतन्त्र र हिन्दु राज्य फर्काउन छिन्नभिन्न भएका सबै शक्तिहरूलाई एकै ठाउँ ल्याउने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७