माओवादी महाधिवेशन : अध्यक्ष प्रचण्डले जवाफ दिन शुरु

निर्वाचन आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश


१६ पुष २०७८, शुक्रबार
Prachanda 6

काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनमा शुक्रबार दिउँसोदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन् । यही सोमबारदेखि शुरु बन्द सत्रमा विभिन्न २५ वटा समूहले राखेका सुझावमाथि प्रचण्डले जवाफ दिइसकेपछि महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढ्ने छ । प्रचण्डले सोमबार ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जसमा छलफलका लागि २५ वटा समूह बनाइएको थियो ।

त्यस्तै प्रचण्डको प्रतिवेदनमा हरिबोल गजुरले, लेखनाथ न्यौपाने र राम कार्कीले पुरक दस्तावेज राखेका थिए । तीन नेताहरुको पुरक दस्तावेजमा पनि प्रचण्डले जवाफ दिँदैछन् । प्रचण्डको जवाफमा चित्त नबुझेमा ती नेताहरुले फरक मत नै पेश गर्ने तयारीमा छन् ।

प्रचण्डले जवाफ दिनुअघि प्रज्ञा प्रतिष्ठानमा स्थायी समिति बैठक बसेको थियो । त्यहाँ प्रतिवेदनमा उठेका जिज्ञासाका जवाफ र नयाँ नेतृत्व चयनबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । सोमबार बन्दसत्रमा प्रचण्डले पेस गरेको ४५ पृष्ठको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन बनेका २५ वटा समूहले बिहीबार आफ्ना निष्कर्ष/प्रश्न प्रस्तुत गरिसकेका छन् । स्रोतका अनुसार माओवादीको केन्द्रीय सदस्यको नाम पेस गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिने सम्भावना छ । माओवादीका १० वटा प्रदेश समिति छन् ।

विधानअनुसार महाधिवेशन प्रतिनिधिले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् । त्यो केन्द्रीय समितिले बल्ल अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ । प्रत्येक प्रदेशलाई क्लस्टर, भूगोल र जनसंख्या लगायत मिलाएर पठाउन निर्देशन दिने तयारी छ ।
‘समावेशी, समानुपातिक रुपमा क्लस्टर मिलाएर नाम माग्ने र सोही नाम बन्द सत्रमा प्रस्ताव गर्ने तयारी छ’, स्रोतले भन्यो, ‘प्रत्येक प्रदेशसँग केन्द्रीय सदस्यको नाम पठाउन स्थायी समितिले निर्देशन दिने सम्भावना छ । निर्वाचन वा सहमतीय जुनसुकै विधिबाट पनि प्रदेशहरूले केन्द्रीय सदस्यको नाम पठाउन सक्छन् ।’

निर्वाचन आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश
नेकपा माओवादीको आठौं महाधिवेशनको छैटौं दिन अन्तर्गत बन्दसत्र जारी छ । पुस ११ गते महाधिवेशनको उद्घाटन गरिएको माओवादीको बन्दसत्रमा निर्वाचन आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश भएको छ । निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले प्रतिवेदन पेश गरेका हुन् ।

बन्द सत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईले अनुशासन आयोगको प्रतिवेदन पेश गरिरहेका छन् । आजै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिने र पारित गराउने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७