संविधान पक्षधर दलहरुबीच सहकार्य र मेलमिलाप आवश्यक : गगन थापा


१६ पुष २०७८, शुक्रबार
gagan thapa ToICdC7ULY

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि दलहरुबीच सहकार्य र मेलमिलापमा जोड दिएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना दिँदै उनले संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि दलहरुबीच सहकार्य र मेलमिलापमा जोड दिएका हुन् ।

‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्ति बीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सुदृढ र एकतावद्ध कांग्रेसले मात्र उक्त आवश्यकताअनुरुपको जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाइ छ । ‘नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनका क्रममा दुखेका मनहरूलाई टाल्दै पार्टीभित्र एकतावद्ध रुपमा नयाँ ऊर्जाका साथ त्यो कार्यभार पूरा गर्नु पर्नेछ,’ महामन्त्री थापाले भनेका छन् ।

२०३३ साल पुस १६ गते निर्वासित जीवन त्याग्दै कांग्रेसका संस्थापन नेता बीपी कोइराला मेलमिलापको नीति अंगालेर स्वदेश फर्किएका थिए । त्यही दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

आफूमाथि लगाइएको राजकाजको मुद्दा बेवास्ता गर्दै मेलमिलापको नीति लिएर स्वदेश फर्किएकै दिन तत्कालीन सरकारले बीपीलाई गणेशनमा सिंह, शैलैजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरुका साथ पक्राउ गरेको थियो । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट पक्राउ गरिएका नेताहरुलाई तत्कालीन सरकारले सुन्दरीजल बन्दीगृह लगेर थुनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७