सर्वोच्चका पूर्व प्रधानन्यायाधीशहरुको सम्पत्ति छानविनको माग गर्दै उजुरी


१६ पुष २०७८, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एशोसिएसनका पूर्व अध्यक्षहरुलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्व प्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समितिलगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो ।

अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएको छ । अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए ।

उनीहरुले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानविनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताए । ‘अहिले सम्मका सबै पूर्व प्रधानन्यायाधीशहरु, सर्वोच्च अदालतका पनि सबै पूर्व न्यायाधीशहरु, नेपाल बार एसोसिएसनको नेतृत्व, बेञ्च बार समन्वय समिति नामको विचौलिया कमिटी, सेटिङ कमिटी नै भ्रष्टाचारको कारण हो ।’

उनले भने, ‘विचौलिया हो भनेर सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित न्यायाधीशहरु समेत सम्मिलित उच्चस्तरीय समितिले गरेको अध्ययन प्रतिवेदनले पनि त्यो समन्वय समिति पनि विचौलिया कमिटी हो भनेर भनेको हुनाले उक्त समन्वय समितिमा रहेका न्यायाधीशहरु, पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व, वर्तमान नेतृत्व समेत त्यसमा संलग्न रहेको त्यही प्रतिवेदनले पुष्टि गरेको छ ।’ अभियानले पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उनका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७