न्यून चापीय प्रणालीको असर कायमै : फेरि वर्षा र हिमपातको सम्भावना


१६ पुष २०७८, शुक्रबार
raining

काठमाडौं । न्युन चापीय प्रणाली कायमै रहेकाले पुनः वर्षा र हिमपातको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान शाखाले जनाएको छ । शुक्रबार प्रकाशित बुलेटिनमा हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख छ ।

देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर रहेको छ ।

विभागले गण्डकी र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान शाखाले २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै अधिकांश स्थानमा वर्षाको संभावना रहेकाले प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने,पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावत हुने तथा ढल/पानीको निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

हाल देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । राति प्रदेश-१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने जनाइएको छ । ती स्थानका उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४ दशमलव सात डिग्री सेल्सियस रहेको छ । काठमाडौं उपत्यकामा बिहानपख बाक्लो हुस्सु लागेपनि दिउँसोबाट घाम लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७