वनमा सालको पात टिप्न जाँदा बाघको आक्रमणबाट महिलाको मृत्यु


१६ पुष २०७८, शुक्रबार
tiger 43
फाइल फोटो

नवलपुर । नवलपुरको मध्यबिन्दु-१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु-१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो ।

बिहान स्थानीय वनमा सालको पात टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए । सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

घटनास्थल अरुणखोला-दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ । नवलपुरमा यसअघि मंसिर दोस्रो साता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका-१, मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो । सो घटनास्थल र आजको घटनास्थल केही दूरीको फरकमा छ ।

वन आसपासमा बाघको आतङ्क बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो । बाघको आक्रमणबाट थप एक जनाको मृत्य भएपछि चिन्तित स्थानीयवासी बाघलाई नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने माग गर्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७