कीर्ते हस्ताक्षर गरी १४ लाख हिनामिनाको आरोपमा वन समूहका पूर्व अध्यक्षविरुद्ध मुद्दा


१६ पुष २०७८, शुक्रबार
forest
सांकेतिक तस्विर

इलाम । इलामको जूनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । कोषाध्यक्षको हस्ताक्षर कीर्ते गरी १४ लाख रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थेवेविरुद्ध मुद्दा दायर गरेको हो ।

माई नगरपालिका-९ स्थित जूनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष थेबेले अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकदार तथा समितिसँग समूहका गोलिया काठ दिन्छु भनि रकम लिएका थिए । थेबेविरुद्ध २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा कीर्ते सही गरी रकम निकाली हिनामिना गरेको भन्ने उजुरी निवेदन परेको थियो ।

यो उजूरीमा अनुसन्धान हुँदा थेबेले समूहको निणर्य किताब तथा चेकबुकलगायतका कागजातहरु आफूले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा जम्मा भएको रकम कोषाध्यक्षको दस्तखत समेत कीर्ते गरी रकम निकाली खर्च गरेको पाइएको छ । उनले सामुदायिक बनका कार्यक्रमहरुको खर्च बिबरण तथा बिल भरपाई समेत नदेखाई बदनियतपूणर् ढंगले हिनामिना अख्तियारको अनुसन्धानले देखाएको छ ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐन, बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७