र्‍यापर लाहुरेसहित चार जनालाई आठ दिन थुनामा राख्न अनुमति


१६ पुष २०७८, शुक्रबार
laure raper arrested3

पोखरा । लागूऔषध कारोबार आरोपमा पक्राउ परेका र्‍यापर आशीष राना ‘लाहुरे’ सहित चार जनालाई कास्की जिल्ला अदालतले आठ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बुधबार राति करीब ७ बजेतिर लागूऔषधसहित पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय लाहुरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको थियो । बिहीबार सार्वजनिक बिदा भएका कारण शुक्रबारमात्रै अनुसन्धानका लागि अदालती प्रक्रिया थालेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार लागूऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो । ‘सबै गरेर उहाँहरुबाट १३.०१ ग्राम ब्राउन सुगर फेला परेको छ,’ प्रवक्ता तिवारीले भने । प्रहरीले उनीहरुबाट डिजटल तराजु १ थान, ३८,३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ ।

प्रहरी स्रोतका अनुसार युवापुस्तामाझ चर्चित लाउरे भनिने आशिष रानाले लागूऔषध सेवन गर्ने स्वीकारिसकेका छन् । ‘लाहुरेले ड्रग नलिँदासम्म स्टेज नै उक्लिन सक्दिनँ भनेर प्रारम्भिक बयानमा भन्नु भएको छ,’ प्रहरी स्रोतले भन्यो । कारोबार पुष्टि भएको खण्डमा र्‍यापर लाहुरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।

पोखरा नयाँबजारका राना ‘रअ बाज’ र्‍याप ब्याटलपछि चर्चामा आएका थिए । पछि उनले लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीत संगीत हुँदै तान्डव नामक फिल्ममा समेत कलाकारका रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७