बिजुली वाहन : उद्घाटन तामझाम, त्यसपछि सुनसान

विद्युतीय बसका लागि पूर्वाधार तयार छैन, लुम्बिनीमा १६ करोडका बस अलपत्र


१७ पुष २०७८, शनिबार
electric bus

काठमाडौं । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे। ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको उद्घोष गरे। सन्, २०२० भित्र विद्युतीय सवारीको संख्या २० प्रतिशत पुर्‍याउने घोषणा गरे। तर, विद्युतीय सवारी प्रयोगमा आउनु त परको कुरा, त्यतिबेला उद्घाटन गरिएकै बस कहाँ-कुन अवस्थामा छन् अत्तोपत्तो छैन ।

प्रधानमन्त्री र मन्त्री चढेर उद्घाटन गरिएका बस नै मापदण्डअनुसारका नभएको भन्दै पछि कम्पनीलाई फिर्ता गरिएका थिए । त्यसपछि, कम्पनीले सम्झौतामा उल्लेख भएबमोजिम पाँच वटा बस सरकारलाई दिइसकेको छ । पर्यटन मन्त्रालयको स्वामित्वमा आएका ती बस दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि प्रयोगमा ल्याइने भनेर लुम्बिनी लगिए । तर, सञ्चालनमा नल्याएर त्यसै अलपत्र छन् ।

एसियाली विकास बैंकको लगानीमा चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका पाँच वटा विद्युतीय गाडी सुरुमा साझाले चलाउने तय भएको थियो । तर, पर्यटन मन्त्रालयले आफू मातहत नै ती बस भित्र्याएको थियो ।

सुरुमै साझासँग लफडा
२०७५ सालमा साझा यातायातलाई विद्युतीय बस किन्नका लागि सरकारले सुरुमा तीन अर्ब रुपैयाँ दियो। उक्त रकम सरकारले सेयरका रूपमा लगानी गरेको थियो । तर बस किन्ने प्रक्रिया ढिला गरेको भन्दै सरकारले २०७६ माघमा ब्याजसहित फिर्ता मागेको थियो । साझाले सेयर फिर्ता नहुने अडान लिइरह्यो । त्यसपछि सरकारले साझालाई नै विद्युतीय बस किन्न दिने निणर्य २०७७ माघमा गरेको थियो ।

वातावरणविद् भूषण तुलाधर पेट्रोलियम पदार्थको प्रयोगले वायु प्रदूषण बढाउनुका साथै राज्यको ढुकुटी पनि रित्तिँदै गएको बताउँछन् । ‘राज्यको ढुकुटी जोगाउन र वातावरणमैत्री बनाउन बिजुली सवारीसाधनको विकल्प छैन,’ तुलाधरले भने, ‘राज्यले बिजुली बस प्रोत्साहन गर्न चाहेमा १० वर्षभित्र पेट्रोलियम गाडी विस्थापन गर्न सकिन्छ ।’

चीनबाट ४० बस आउँदै
साझा यातायातले चीनबाट ४० वटा विद्युतीय बस खरिदको सम्झौता गरेको छ । चीनको सीएचटीसी किनविन नानजिङ अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस, आवश्यक चार्जर र पाँच वर्षसम्मको मर्मत सम्भारका लागि साझाले सम्झौता गरेको छ ।

४० वटा बस र २० वटा चार्जरका लागि साझाले ३७ लाख ३८ हजार ५ सय ५० अमेरिकी डलर तिरेको छ । आवश्यक तालिम तथा पाँच वर्षको मर्मत सम्भार र स्पेयर्स पार्टस्का लागि थप ६ करोड ७३ लाख ६५ हजार ५ सय ५३ रुपैयाँ साझाले चिनियाँ कम्पनीलाई प्रदान गर्ने सहमति गरेको छ ।

साझाले २०७७ चैत्र १३ गते खरिद प्रक्रियाका लागि बोलपत्र आह्वान गरेको थियो । नौ वटा कम्पनीले बुझाएको बोलकबोलमध्ये साझाले सीएचटीसी कम्पनीसँग खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार सुरुमा तीन वटा बस कम्पनीले काठमाडौं पुर्‍याउनु पर्नेछ । ती बस आइपुगेपछि परीक्षण गरेर थप बस ल्याउने साझाको तयारी छ ।

साझाले ल्याउन लागेका बसमा २६ सिट अपांगमैत्री हुनेछन् । बसमा ४२ जनाले यात्रा गर्न सक्नेछन् । साझाले यससँगै थप गाडी भित्र्याउने योजना बनाएको छ । ललितपुर महानगरपालिकासँग सहकार्य गरी ललितपुरभित्र सञ्चालन गर्न चार वटा गाडी खरिद गर्ने प्रक्रिया अघि बढेको तुलाधरले बताए ।

सरकार र नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी चार्जिङ स्टेसनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रूपान्तरण गर्र्न आवश्यक अनुसन्धानको काम थाल्ने साझाको तयारी छ । साझाले सन् २०२५ भित्र प्रदूषणरहित बनाउने घोषणा गरेको छ । हाल साझाका ७१ वटा गाडी छन् ।

निजीमा आकर्षण, सार्वजनिकमा अझै आलटाल
विगत दुई वर्षयता केन्द्र सरकार तथा प्रदेश सरकारले वातावरणमैत्री विद्युतीय बस खरिद गर्ने योजना सार्वजनिक गरेका थिए । सरकारी योजना भने कागजमै सीमित छन् । निजी क्षेत्रले भने विद्युतीय सवारीमा हात हालिसकेको छ । सार्वजनिक यातायात सञ्चालन गरिरहेको सुन्दर यातायातले उपत्यकाका साथै काठमाडौं सिन्धुलीमा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । सुरुमा यी बसको रुट परमिट पाउनै सुन्दरलाई सकस भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा रुट परपिट पाएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा सुनाउँछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७