नयाँ नेतृत्व चयन गर्दै आज माओवादी केन्द्रको महाधिवेशन सकिंदै


१७ पुष २०७८, शनिबार
Prachanda 900

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित आज (शनिबार) सक्ने तयारी भएको छ । शनिबार ११ बजे शुरु हुने बन्द सत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

त्यसपछि विधान संशोधन प्रस्ताव पारित निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको थिएन । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ । माओवादीको महाधिवेशन पुस ११ देखि राजधानीमा सुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७