खोटाङमा भनसुन र पहुँचको भरमा बिना रुट पर्मिट यातायात सञ्चालन


१७ पुष २०७८, शनिबार
Diktel jalpa sadak1641014056

खोटाङ । खोटाङका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारी साधन बिना अनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमति) लिनुपर्ने कानुनी प्रावधान छ ।

अहिले जिल्लाका दशवटै स्थानीय तहमा साना तथा ठूला यातायातका सवारी साधन दैनिकरुपमा सञ्चालन भइरहेको छ । तर, ग्रामीण सडकमा सञ्चालन हुने केही सवारी साधनले मात्र अस्थायी रुट पर्मिट लिएको पाइएको हो । रुट पर्मिटका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले सिफारिस गरे पनि यातायात धनीले बेवास्ता गरेको खोटाङ यातायात प्रालिका जिल्ला सचिव रामकुमार हिङ्माङले बताए ।
‘बिना रुट पर्मिट कुनै पनि यात्रुबाहक सवारी साधन चलाउन पाइँदैन’, उनले भने, ‘अधिकांश यातायात धनीले भनसुन र पहुँचको भरमा बिना रुट पर्मिट जिल्लाका सबै सडकमा यातायात चलाइरहेका छन् ।’

रुट पर्मिट नभएका सवारी साधन दुर्घटना भएको खण्डमा त्यसमा सवार यात्रु घाइते तथा मृत्यु भएमा उनले क्षतिपूर्ति पाउँदैनन् । बिना रुट पर्मिट सञ्चालित यातायातमा सवार व्यक्ति दुर्घटना भए स्वयंले उपचार खर्च बेहोर्नुपर्ने हुन्छ । जिल्लामा अहिले साना तथा ठूला गरी ३०० भन्दा बढी यात्रुबाहक सवारी सञ्चालित छन् ।

जिल्लामा सञ्चालित सबै सवारी साधनका धनीलाई अनिवार्य रुट पर्मिट बनाएर मात्र आफ्नो सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको जिल्ला ट्राफिक कार्यालय खोटाङका प्रमुख दलबहादुर खत्रीले बताए । ‘ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारी साधनको रुट पर्मिट छैन’, उनले भने, ‘हप्ता दिनभित्र बनाउन सबै सवारी धनीलाई भनिएको छ । यसप्रति सम्बन्धित यातायात प्रालि तथा यातायात व्यवसायी सङ्घले चासो दिनुपर्छ ।’

जिल्लामा नियमविपरीत सञ्चालित सवारी साधनलाई ट्राफिक प्रहरी कार्यालय खोटाङले कडाइका साथ कारबाही गरिरहेको छ । सवारी नियम उल्लङ्घन गर्ने दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनलाई कारबाही गरेर ट्राफिक प्रहरीले महिनादिनमै सात लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

गत मङ्सिर महिनामा मात्रै ९४५ सवारी साधन कारबाही गर्दा सात लाख १० हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ । सङ्कलित राजस्व रकम जिल्ला प्रहरी कार्यालय खोटाङको बैंक खातामार्फत विभागमा जम्मा गरिएको जनाइएको छ ।

ग्रामीण सडकका लागि सम्बन्धित जिल्ला प्रशासनको सिफारिसमा छ महिनाका लागि यातायात व्यवस्था विभागले अस्थायी रुट पर्मिट दिने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विकल श्रेष्ठले बताए । ‘हामीले जिल्लाका सबै ग्रामीण सडकका लागि अस्थायी रुट पर्मिट दिन सम्बन्धित निकायमा सिफारिस गरेका छौं’, उनले भने, ‘यदि कार्यान्वयन भएको छैन भने सम्बन्धित निकायसँग परामर्श गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’

जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको भाडासमेत बढी भएको यात्रुले गुनासो गरेका छन् । पन्ध्र किलोमिटर यात्रा गर्दा कम्तीमा पनि रु ४०० तिनुपर्ने बाध्यता रहेको यात्रुले बताएका छन् । जिल्लाका ग्रामीण सडकमा सञ्चालित यात्रुबाहक सवारी साधनको भाडा निर्धारण गरिएको छैन । ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको भाडादर सम्बन्धित निकायले निर्धारण नगर्दा यातायात व्यवसायीले आफूखुशी असुल्ने गरेका छन् ।

जिल्लामा निर्माण गरिएका दिक्तेल-ऐसेलुखर्क, दिक्तेल-जालपा, दिक्तेल-चखेवा, दिक्तेल-मात्तिम, दिक्तेल-फोक्सिङटार, दिक्तेल-पञ्चमी, दिक्तेल-खार्मी, दिक्तेल-पाथेकालगायतका ठाउँमा यातायात सञ्चालन गरिएको छ । बिना रुट पर्मिट जिल्लाका सबै ग्रामीण सडकमा यातायात सञ्चालन भएसँगै जिल्लावासी जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७