जम्मू-कश्मिरमा पूर्व मुख्यमन्त्रीसहित शीर्ष नेताहरू नजरबन्दमा


१७ पुष २०७८, शनिबार
thumb

नयाँदिल्ली । जम्मू-कश्मिरका विभिन्न दलका शीर्ष नेताहरूलाई नयाँ वर्षकै दिन ‘नजरबन्द’मा राखिएको छ । नेसनल कन्फरेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाह, पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती तथा सीपीआईएमका नेता एम वाई तरिगामीलाई नजरबन्दमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू-कश्मिरका राजनीतिक दलको समूह ‘गुपकर गठबन्धन’ ले शनिबार केन्द्र सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेका थिए । विरोध प्रदर्शन सुरु हुनुअघि नै नेताहरूको घरमा ताला लगाइएको बताइएको छ । त्यस्तै शीर्ष नेताहरूको घरअगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले घरको गेटमा रहेको प्रहरीको गाडीको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘सुप्रभात, सन् २०२२ मा तपाईंलाई स्वागत छ । एउटा नयाँ वर्ष, उही पुरानो जम्मू-कश्मिर प्रहरीसँग जसले अवैध रूपमा मानिसहरूलाई घरमै थुनिरहेको छ । अर्को एक प्रशासन जो सामान्य लोकतान्त्रिक गतिविधिबाट यति डराएको छ कि शान्तिपूणर् प्रदर्शनमा समेत रोक लगाएको छ । प्रदर्शन रोक्नका लागि जम्मू-कश्मिर प्रहरीको ठूला ट्रक ढोकामा राखिएका छन् । केही चिज कहिल्यै बदलिँदैनन् ।’

त्यस्तै अर्को ट्वीटमा उनले प्रहरीले आफ्ना बुवा फारुक अब्दुल्ला र बहिनीको घर जोड्ने भित्री ढोका पनि बन्द गरिदिएको बताएका छन् । त्यस्तै पीडीपीकी नेता महबूबा मुफ्तीले पनि ट्वीट गर्दै सरकार डराएर आफूहरूको शान्तिपूणर् प्रदर्शनमा रोक लगाएको बताएकी छिन् । उनले शान्तिपूणर् प्रदर्शन आयोजना गर्न खोजेकै कारण आफूहरूलाई १५औं पटक नजरबन्दमा राखिएको बताएकी छिन् ।

जम्मू-कश्मिरका राजनीतिक दल शनिबार केन्द्र सरकारबाट थप गरिएको ७ विधानसभा क्षेत्रको ‘अस्वीकार्य विभाजन’ को विरोधमा प्रदर्शन गर्ने तयारीमा थिए । सन् २०२० फेब्रुअरी १७ मा केन्द्र सरकारले जम्मू-कश्मीरमा विधानसभा क्षेत्र बढाउने प्रक्रिया सुरु गरेको थियो । सरकारले १०७ बाट बढाएर ११४ सिट पुर्‍याएको छ ।

जसमध्ये २४ सिट पाकिस्तान प्रशासित कश्मिरका लागि आरक्षित छन् । जम्मूमा ६ सिट बढेर ४३ भएको छ भने १ सिट बढाइएको कश्मीरमा ४७ पुगेको छ । जनसंख्याको अनुपातमा सिट नबढाइएको भन्दै क्षेत्रीय दलहरूको असन्तुष्टि बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७