केन्द्रीय सदस्यमा सकेसम्म सहमति, नमिले चुनाव हुन्छ : प्रचण्ड

बन्द सत्र पुनः शुरु


१७ पुष २०७८, शनिबार
prachanda 9

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्य चयन सहमतिबाटै गरिने बताएका छन् ।
बन्द सत्र हलमा अध्यक्ष प्रचण्डले क्लस्टर र खुल्ला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् । सहमतिका लागि साँझ ५ बजेसम्मको समय दिइएको उल्लेख गर्दै प्रचण्डले सहमति नभए लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने र जनवाद लागू गरिने बताए ।

उनले भने, ‘सहमतिका लागि ५ बजेसम्मको समय दिइएको छ । सहमति नभए निर्वाचन प्रक्रिया शुरु हुन्छ । हामी जरुरी पर्दा कुनै पनि लोकतान्त्रिक प्रयास गर्ने गर्दर्छौ । तर जस्तोसुकै लोकतन्त्रमा पनि सहमतिको प्रयास हुन्छ । दुई घण्टामा सहमति नजुटे प्रक्रियामा जाने उनले बताए । भूगोलबाट सात र एक गैरभौगोलिकबाट गरी ८ प्रदेशभित्र तोकिए कोटा अनुसार ५ बजे प्यानल पेस गरिने छ । सहमति नजुट्ने प्रदेशको हकमा निर्वाचन हुने बताइएको छ ।

बन्द सत्र पुनः शुरु
माओवादी केन्द्रको बन्द सत्र अन्तर्गतको सत्र फेरि शुरु भएको छ । विधान पारित भएपछि बसेको स्थायी समिति बैठक भर्खर सकिएपछि बन्द सत्र शुरु भएको हो । अब सम्भवतः केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने सम्भावना छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा यही पुस ११ देखि माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ । जारी बन्दसत्रले आजै नेकपा माओवादी केन्द्रको विधान संशोधनसहित विधान पारित गरेको हो । संशोधित विधानअनुसार केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी सदस्य रहने छन् । तीमध्ये १५ प्रतिशत मनोनयन हुनेछन् ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूणर् समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्‍याइएको हो । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।

५० प्रतिशतको पूणर् समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७