नागरिकता नै बन्धकीमा परेपछि सदा दम्पती समस्यामा


१७ पुष २०७८, शनिबार
nagarikta
सांकेतिक तस्वीर

जनकपुर । साहूसँग ऋण लिदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ । तर, यहाँ ऋणका लागि साहूकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

यस्तै अचम्मको कुरा भएको छ, सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ कविलासाको एक दलित परिवारमा । स्थानीय रामविलास सदाले स्थानीय साहू रवि मण्डलसँग २० हजार ऋण लिनका लागि आफ्नो नागरिकता प्रमाणपत्र नै बन्धनकीमा राख्नु परेको छ ।

‘गत २०७६ चैत महिनामा कोरोना महामारी फैलिन नदिन सरकारले लकडान गरेका बेला सबै काम बन्द भएर गुजारा चलाउन नै मुश्किल भएकाले गाउँले रविसँग ऋण माग्न गएँ’, ६० वर्षीय सदाले भने, ‘तर रविले ऋण पाउन कुनै समान बन्धकी राख्नुपर्छ, नत्र ऋण पाइन्न भनेर फर्काउनु भयो ।’

आफूसँग बन्धकीमा राख्ने कुनै समान नहुँदा साहूकहाँ नागरिकता नै राख्नु परेको सदाको दुखेसो छ । ‘मसँग बन्धकीमा राख्न न कुनै जग्गा छ, न त कुनै गरगहना वा चलअचल सम्पत्ति नै’, रामविलास भन्छन्, ‘त्यतिकै ऋण दिनुस् म मजदुरी गरेर विस्तारै तिरिदिन्छु भनेर आग्रह गर्दा सुरुमा साहू रविले मान्नु भएन, पछि बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो’, नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको सदाको गुनासो छ ।

ऋणका लागि नागरिकता बन्धकीमा राखेपछि अहिले सदाकी श्रीमती सावित्रीदेवीलाई नागरिकताको प्रमाणपत्र बनाउन कठिन भएको छ । ‘पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ क्यारे’, उनले भने, ‘वडाध्यक्षबाट नागरिकताका लागि सिफारिस गराएर सबै कागजात लिइ पटकपटक बोदे बर्साइनस्थित इलाका प्रशासन कार्यालय पुगेँ तर पतिको नागरिकता नल्याएसम्म नागरिकता बनाउन मिल्दैन भनेर फर्काइ दिए ।’

ऋण लिएबापत बन्धकीमा राखिएको पतिको नागरिकता माग्न पटकपटक साहूकोमा धाए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको रामविलासकी पत्नी सावित्रीदेवीको भनाइ छ । भारतको पञ्जाबमा मजदुरी गरी हालै फर्किएका आफ्ना पतिले साहू रविलाई २० हजारमध्ये १५ हजार रुपैयाँ चुक्ता गरे पनि पुरै ऋण चुक्ता नभएसम्म नागरिकता फिर्ता नदिने साहूले बताउँदै आएका छन् ।

‘नागरिकता फिर्ताका लागि कि त पूरै ऋण चुक्ता गर कि त मेरो खेतबारीमा मजदुरी गरी ऋण चुक्ता गर भन्दै आएका छन्’, सावित्री देवी भन्छिन्, ‘एकातिर तत्काल ऋण चुक्ता गर्ने पैसा छैन, अर्कोतिर म बिरामी रहेकाले काम गर्नसक्ने अवस्था छैन ।’
भारतको विभिन्न सहरमा मजदुरीका लागि नेपालबाट कामदार लैजाने र ल्याउने ठेक्कापट्टाको काम गर्दै आएका साहू रविले ऋणबापतको रकम चुक्ताका लागि सावित्री देवीका पति रामविलासलाई पनि भारतको पञ्जाब लगेका थिए ।

‘मजदुरी गरेर पञ्जाबमै साहू रविलाई १५ हजार ऋण तिरिदिएँ’, रामविलासले भने, ‘तर बाँकी पाँच हजार र केही ब्याज रकमका लागि नागरिकता फिर्ता दिन चाहिरहनु भएको छैन ।’ बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि नागरिकताको प्रतिलिपि बनाउन खोजे पनि आवश्यक प्रमाणको आभावमा त्यो पनि सम्भव नभएको रामविलासको भनाइ छ ।

‘नागरिकताको प्रतिलिपि बनाउन पहिलाको नागरिकताको नम्बर, र जारी मिति चाहिन्छ’, उनी भन्छन्, ‘वडाध्यक्ष नजिक नागरिकता प्रतिलिपिको सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउनू भन्नुहुन्छ, तर मसँग न नागरिकताको फोटोकपी छ, न त नागरिकताको नम्बर र जारी मिति नै थाहा छ ।’ त्यसैले प्रतिलिपि समेत बन्न नसकेको रामिविलासको गुनासो छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७