पुनः शुरु भए लगतै माओवादी केन्द्रको बन्द सत्र साँझ ५ बजेसम्मका लागि स्थगित

केन्द्रीय सदस्यहरुको नाम सिफारिस गर्न नेताहरु छलफलमा


१७ पुष २०७८, शनिबार
Maoist Center 8th General Convention Bandasartra

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउन बन्दसत्र स्थगित गरिएको हो ।

सहमतिका लागि साँझ ५ बजेसम्म बन्दसत्र स्थगित भएको कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसीले जानकारी दिइन् । क्लष्टरअनुसारको केन्द्रीय समितिको ट्ङ्गो लगाउन महाधिवेशनस्थल प्रज्ञा भवनमा स्थायी समिति बैठक बसिरहेको छ । महाधिवेशनबाट आजै केन्द्रीय समितिको टुङ्गो लगाउने माओवादीको तयारी छ ।

विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने छन् । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७