चार दिनदेखि हिउँमा फसेका बाबु-छोरा सम्पर्कविहीन


१७ पुष २०७८, शनिबार
bepata

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबु-छोरा अझै सम्पर्कमा आएका छैनन् । अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार हुन नसकेको हो ।

शनिबार बिहान मिक्वाखोला गाउँपालिका-५ का वडाध्यक्ष डण्डु शेर्पालाई फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइ दिन आग्रह गरेका थिए । सोहीअनुसार बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्टा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अन्दाजी ५०-५५ वर्षका लाक्पाटासी र उनका १४-१५ वर्षीय छोरा पासाङ शेर्पा हिउँमा फसेका हुन् । बाबु छोरा शुक्रबार मात्र टेलिफोन सम्पर्कमा आएको वडा अध्यक्ष शेर्पाले बताए । ‘चौंरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौं । हामी निस्कन नसक्ने भयौं’, भन्दै हेलिकोप्टरबाट निकालिदिन आग्रह गरेको शेर्पाले बताए ।

सम्पर्कविहीन भएपछि अहिले हेलिकोप्टर सुकेटार विमानस्थलमा होल्ड गरी राखिएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । पैदल मार्गमार्फत उद्धारको लागि जानेहरू पनि बाक्लो हिउँ जमेकाका कारण आधा बाटोबाटै फर्केको शेर्पाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७