माओवादी महाधिवेशन : यथास्थितिको निरन्तरता


१९ पुष २०७८, सोमबार
maoist mahadhibesan prachanda pratibedan १ scaled

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ । पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो ।

सैद्धान्तिक र नेतृत्व चयनमा नयाँपन बिनै महाधिवेशन औपचारिकतामा सीमित हुन पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले पुस १२ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी र मुलुकलाई दिशानिर्देश गर्नेभन्दा पनि औपचारिकता निर्वाह गरिएको छ ।

उक्त प्रतिवेदनमाथि सुझाव र फरक मत प्रकट भए पनि दाहालकै प्रतिवेदन बन्दसत्रबाट सर्वसम्मत पारित भयो । माओवादीले लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउँदै आए पनि जनवादी केन्द्रीयताको अभ्यास गर्दै नयाँ कमिटी घोषणा भएको हो ।
केन्द्रीय कमिटी गठनमा लोकतान्त्रिक अभ्यास हुनसक्ने बताइए पनि अन्तिममा दाहालको प्रस्तावलाई नै बन्दसत्रले अनुमोदन गरेको छ । अध्यक्ष दाहालले खुलातर्फ १ सय ११ र समानुपातिकतर्फ १ सय २५ केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पेस गरेका थिए ।

बाँकी करिब १५ प्रतिशत केन्द्रीय सदस्यको नाम भने अझै टुंगिएको छैन । त्यसलाई पनि छिटै टुंग्याउने दाहालले बताएका छन् । केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै दाहालले बन्द सत्रमा सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने आफ्नो प्रतिबद्धतालाई जसोतसो पार लगाएको बताएका छन् । उनको यो भनाइले पनि महाधिवेशन र केन्द्रीय सदस्य चुन्ने प्रक्रियामा जनवादी केन्द्रीयताकै अभ्यास गर्न चाहेको देखाउँछ । माओवादी केन्द्रले महाधिवेशनमार्फत चुनिएका केन्द्रीय सदस्यको पहिलो बैठकमार्फत सोमबार पदाधिकारीको टुंगो लगाउने भएको छ ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने केन्द्रीय समिति बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ । दाहालले पदाधिकारी चयन पनि सहमतिमै हुने बताउने गरेका छन् । उनले आइतबारको बन्द सत्रमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दै भने, ‘विधानअनुसार केन्द्रीय समितिले पदाधिकारीको विषय टुंग्याउने हो । कतिपयले आजै टुंगो लगाऊँ भनेका थिए । भोलि (सोमबार) नयाँ केन्द्रीय समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारीको टुंगो लगाइनेछ । पदाधिकारीमा करिब करिब सहमति भइसकेको छ ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७