पदाधिकारी चयनमा प्रचण्डलाई सकस, केन्द्रीय कमिटी बैठक बस्दै


१९ पुष २०७८, सोमबार
maobadi baithak 6Vvz5XNagT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ पदाधिकारी चयन गर्न आन्तरिक गृहकार्यमा जुटेका छन् । सोमबार बिहानैदेखि उनले आफू निकट नेताहरुसँग द्विपक्षीय र बहुपक्षीय छलफल जारी राखेका छन् ।

अध्यक्षमा निर्विकल्प देखिएका प्रचण्डलाई महासचिव छान्न सकस परेको छ । महासचिवका आकांक्षीहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेतले लविङ तीब्र पारेका छन् । पदाधिकारी चयन गर्न केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार दिउँसो बस्दैछ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । सोमबारको बैठकले बाँकी सदस्यको नाम, अध्यक्षसहित पदाधिकारीको चयन टुंगो लगाउने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा खुलातर्फ १११ र १२५ समानुपातिकतर्फ गरी अध्यक्ष प्रचण्डले २३६ जना केन्द्रीय कमिटी सदस्यको घोषणा गरेका थिए । विधानबमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ ।

माओवादीले खुला र समावेशी गरी मिश्रित निर्वाचन प्रणालीबाट कमिटी बनाएको हो । निर्वाचन कार्यक्रम पटक-पटक सार्दै प्रचण्डले बन्दसत्रमा नयाँ केन्द्रीय कमिटीको घोषणा गरेका थिए । माओवादीले आठौं महाधिवेशनबाट पार्टीको नयाँ विधान जारी गरेको छ । त्यसअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय भएको छ ।

संशोधित विधान बन्दसत्र अनुमोदन गरेपनि माओवादीले पदाधिकारीको संख्या तोक्न सकेन । पदाधिकारीसहितको विधानमा आवश्यक परिमार्जन गरेर अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिइएको छ । योसँगै माओवादीको पदाधिकारी कति हुने हालसम्म अनिश्चित बनेको छ । केन्द्रीय कमिटीले यसअघि १० प्रतिशत मनोनित गर्ने भनिएकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७