माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, को बन्लान् महासचिव ?

जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुनसक्ने संकेत


१९ पुष २०७८, सोमबार
dev janardan

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले केन्द्रीय कमिटी चयन गरेको छ । केन्द्रीय सदस्यहरुमध्येबाट पदाधिकारी चयन हुनेछन् । माओवादीले २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो ।

माओवादीले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । विवाद मिलाउन ६३ जना केन्द्रीय सदस्यको पद रिक्त राखेको छ । माओवादीले खुल्लातर्फ १३२ र सामानुपातिकतर्फ १२५ जनालाई केन्द्रीय सदस्य बनाएको हो । महाधिवेशनले पदाधिकारी चयनको जिम्मा निर्वाचित केन्द्रीय कमिटीलाई दिएको छ । माओवादीले सहमतिकै आधारमा पदाधिकारी चयन गर्ने यदी त्यसो नभए निर्वाचनमा जान सकिने बताउँदै आएको छ ।

पार्टीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने छन् । अध्यक्षमा निर्विकल्प देखिएका प्रचण्डलाई महासचिव छान्न सकस परेको छ । महासचिवका आकांक्षीहरु कृष्णबहादुर महरा, देव गुरुङ, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेतले लविङ तीब्र पारेका छन् ।

महरा यसअघि नै महासचिव भइसकेका थिए । वर्षमान भने स्वास्थ्य समस्याका कारण चीनमा उपचाररत छन् । महाधिवेशन प्रतिनिधि र छिमेकी देश चीनको पनि वर्षमानलाई महासचिव बनाउन दबाब रहेको सञ्चारमाध्यमहरुमा आइसकेका छन् । नेकपा माओवादी केन्द्रको महासचिवमा नेता जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना बढेको छ। महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो । अन्तिम घडीमा अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन चाहेको बुझिएको छ । तर, शर्माले आफू चुनाव लडेर भएपनि महासचिव बनिछाड्ने बताउँदै आएका छन् ।

पार्टीभित्र बलियो पकड रहेकाले पनि महासचिवमा जनार्दनको चर्चा पनि छ । समावेशी पनि हुने र पार्टीमा योगदान पनि गरेकाले पम्फा पनि महासचिवको बलियो दावेदार हुन् । पछिल्लो समय देव गुङको पनि महासचिवको दौडमा इन्ट्री भएको छ । पार्टीमा योगदान पुर्‍याएको र जनजाति पनि भएकाले गुरुङको महासचिव हुने सम्भावना बलियो भएको उनी निकट नेताहरु बताउँछन् । माओवादी केन्द्रमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । माओवादी केन्द्रको निर्वाचित केन्द्रीय कमिटीको बैठक केहि बेरमा बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७