मन्त्री सोडारीका छोरा पक्राउ


१९ पुष २०७८, सोमबार
pakrau
फाइल फोटो

कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीका छोरालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा मन्त्री सोडारीका छोरा २३ वर्षीय बबीलाई आइतबार बेलुकी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बबीले चलाएको गाडीले ठक्कर दिएका महिलाको मृत्यु भएकाले समातेको बताए । पुस २ गतेका दिन बबीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले टीकापुरमा स्थानीय ९५ वर्षिया पैदल यात्री दुर्गादेवी न्यौपानेलाई ठक्कर दिँदा घाइते भएकी थिइन् । घटना लगत्तै उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहने गरी बबीलाई छाडिएको र मृत्युको घटनापछि उनी सम्पर्कमा नआएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ठक्कर दिए लगत्तै बबी काठमाडौं बस्दै आएका थिए । उपचाररत घाइते महिलाको गत पुस ११ गते मृत्यु भएको थियो । मृत्यपश्चात् उनी अहिलेसम्म सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । आइतबार पक्राउ गरिएका बबीलाई जिल्ला अदालत कैलालीबाट सवारी ज्यान मुद्दामा सात दिनको म्याद थपिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७