ललिता निवास प्रकरण : प्रतिवेदन बुझाउने तयारीमा सीआईबी


२० पुष २०७८, मंगलवार
CIB

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सीआईबीको छ ।

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सरकारी जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही दिनमै प्रतिवेदन बुझाउने तयारीमा छौं’, उनले भने । यस प्रकरणको अनुसन्धानको हदम्याद यही पुस २७ गते सकिँदै छ । उक्त समयभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने प्रावधानका कारण ब्युरोले यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

सीआईबीले सरकारी जग्गा हिनामिनामा जोडिएका तीन सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको जनाएको छ । तिनमा तत्कालीन सरकारी कर्मचारी र अन्य छन् । राजनीतिक नेतृत्वबारे भने सीआईबीले अनुसन्धान अगाडि बढाएको छैन । सीआईबीले १२६ रोपनी जग्गा हिनामिना हुँदा १२ अर्ब नौ करोड ६० लाख रुपियाँ सरकारी नोक्सानी भएकाले उक्त रकमको बिगो दाबी गर्ने तयारी गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७