मेरो इम्युन सिस्टम शून्य भए पनि अहिलेसम्म कोरोनाले समाउन सकेको छैन : ओली

‘आफ्नो सभ्यता र इतिहास जोगाउन जरुरी छ’


२१ पुष २०७८, बुधबार
Kp Oli 1230

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफूलाई अहिलेसम्म कोरोनाले समाउन नसकेको उनको भनाइ छ ।

संस्कृति बचाउ अभियानले बुधबार ओलीको भक्तपुरको बालकोटस्थित निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए । कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए ।

‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनु पर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने । उनले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको उनको भनाइ थियो ।

‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बर समेत कति हो सोध्नुपर्छ,’ उनले भने । ओलीले पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताए । ओलीले आफ्नो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् । एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि नै आफ्नै भूमिबाट भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने बताए । उनले आफूहरूका पूर्वजहरूसँग अरु कसैको तुलना हुन नसक्ने भन्दै सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको दाबी गरे ।

अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न सबैलाई आह्वान गरेका छन् । उनले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई सधैं आफ्नो साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनभन्दा हजारौं वर्षअघि महान् खगोलविद् भास्कराचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको बताए ।

उनले अष्टवक्र जस्ता दार्शनिकहरूको चर्चा हुन नसकेको उल्लेख गर्दै भने, ‘हाम्रा पूर्वजहरूसँग कसैको तुलना हुँदैन । सभ्यताको सृष्टि यहाँ भएको थियो । यो सभ्यताको सृष्टि र विकास भएको ठाउँ हो । पछि अन्त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति परपर जानु स्वभाविक पनि हो ।’ ‘यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरू प्रमिथस भएर निस्किए‚’ उनले भने । विस्तार हुन नसक्दा आफ्ना पूर्वजले आर्जन गरेको ज्ञान सीमित क्षेत्रमा खुम्चिन पुगेको बताउँदै अध्यक्ष ओलीले यो ज्ञानभूमि भएको समेत दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७