भारतमा आतंक, नेपालमा बेफिक्री


२२ पुष २०७८, बिहीबार
naka2022 01 06 06 07 24

काठमाडौं । छिमेकी भारतमा एक सातामा कोरोना संक्रमण पाँच गुणाले बढेको छ । नेपालमा पनि एक सातामा संक्रमण दर दोब्बरले बढेको छ । यस्तो जोखिमपूणर् अवस्थामा खुला सिमानाबाट दैनिक हजारौं नागरिक ओहोरदोहोर गरिरहेका छन् । सरकारले नाकामा परीक्षण दर बढाउनुपर्नेमा आउने संख्याको तुलनामा झन् घटाएको छ ।

नेपालमा १४ पुसमा दुई सय २० नयाँ संक्रमित पुष्टि भएकामा २१ पुसमा चार सय ३५ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या मात्रै होइन, संक्रमणदर पनि झन्डै दोब्बरले नै बढेको छ । दुई सय २० जनाको पजिटिभ रिपोर्ट आएको अघिल्लो बुधबार सात हजार ६ सय आठको नमुना परीक्षण भएको थियो, जुन संक्रमणदर २.८९ प्रतिशत हुन्छ । बुधबार चार सय ३५ मा संक्रमण पुष्टि हुँदा भने १० हजार दुई सय ६९ नमुना परीक्षण भएको थियो, जुन संक्रमणदर ४.२३ प्रतिशत हुन्छ ।

दुई साताअघिको तथ्यांकसँग तुलना गर्दा नेपालमा संक्रमण थोरै-थोरै गर्दै निरन्तर बढेको देखिन्छ । ४ पुसमा नौ हजार आठ सय ७२ नमुना परीक्षण गर्दा एक सय ८१ मात्रै पजिटिभ देखिएका थिए, जुन संक्रमणदर १.८३ प्रतिशत मात्रै हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला दिन संक्रमित हुनेहरू भारतसँगका खुला नाका र हवाईमार्ग हुँदै आएका व्यक्ति धेरै छन् । नाकामा गरिएको एन्टिजेन परीक्षणमा आएका नतिजाले पनि यसलाई पुष्टि गर्छ । छिमेकी भारतमा नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिरहेको छ । युरोपमा त ओमिक्रोनसँगै आइएचयू भेरियन्ट पनि पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए । ७ पुसमा ५८ वर्षीय अर्का व्यक्तिमा पनि ओमिक्रोन पुष्टि भएको थियो । अहिले बढिरहेको संक्रमण ओमिक्रोन हो वा होइन पुष्टि गर्न सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न सकेको छैन । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झा जिन सिक्वेन्सिङमा ‘एस जिन’ नेगेटिभ देखिने संख्या बढ्दो क्रममा रहेकाले नेपालमा ओमिक्रोन नै फैलिएको बताउँछिन् ।

‘अहिले विश्वव्यापी रूपमै अल्फा भेरियन्ट (पुरानो) कम देखिएको छ । यही वेला ओमिक्रोन देखा पर्नु र एस जिन नेगेटिभको संख्या पनि बढ्नुले ओमिक्रोन संक्रमित नै बढेको पुष्टि गर्छ,’ उनले भनिन् । हाल ओमिक्रोन आशंकामा २४ नमुनाको जिन सिक्वेन्सिङ सुरु गरिएको र दुई दिनपछि नतिजा आउने झाले बताइन् ।

अल्फा भेरियन्ट नदेखिएकाले सरकारले ‘एस जिन’ नेगेटिभ आएका सबैलाई सीधै ओमिक्रोन नै पुष्टि गर्ने तयारी पनि गरेको छ । यस विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत निकायबीच छलफल भइसकेको छ । अहिले जिन सिक्वेन्सिङका लागि घानमा हालिएका २४ नमुनाको नतिजा आउन्जेलसम्म कुरिएको स्रोतले बतायो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले पनि नेपालमा ‘ओमिक्रोन’ बढ्न थालेको अनुमान लगाएका छन् । नेपाल-भारत सीमानाकामा शून्यमा झरेको केस फेरि दैनिक रूपमा बढ्न थालेको र ती नमुनामा ‘एस जिन’ नदेखिएको उनले बताए ।

‘भारतसँगको सीमानाका र हवाईमार्गबाट आउनेहरू संक्रमित भेटिएका छन् । यो संख्या दिनदिनै बढिरहेको छ । र, उनीहरूको नमुना परीक्षणमा एस जिन नेगेटिभ देखिएको छ । यसको अर्थ ओमिक्रोन नै हो भन्ने हो,’ डा. पौडेलले भने, ‘अहिलेको अवस्था हेर्दा जनवरीको अन्तिमतिर नेपालमा संक्रमण बढ्ने अनुमान छ ।

स्वास्थ्य मन्त्रालयले गरायो ‘अलर्ट’
कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न तीनै तहका सरकारले प्रभावकारी कदम चालेका छैनन् । यसअघि बनाइएका आइसोलेसन, क्वारेन्टिनलगायत संरचना पनि कायम छैनन् । जोखिमबाट जोगिन स्वास्थ्य मन्त्रालयले ‘अलर्ट’ भने गराएको छ ।

मन्त्रालयले कोरोनाको नयाँ लहर रोक्न र क्षति कम गराउन विगतमा सम्भव भएका कार्यालय घरबाट चलाउन, भिडभाड नगर्न, मास्क, स्यानिटाइजर नियमित प्रयोग गर्न तथा खोप नलगाएकालाई तुरुन्त लगाउन आग्रह गरेको छ । प्रदेश र स्थानीय सरकारलाई निर्देशन पनि दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो ।

त्यस्तै, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी क्वारेन्टिन तथा परीक्षण गर्न, सीमानाकामा प्रवेश गर्ने यात्रुहरूको प्रोटोकलअनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरूको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टिनमा रहेका व्यक्तिहरूको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

थप मात्रा खोप रोकियो
संक्रमण बढ्न थालेपछि सरकारले कोरोनाविरुद्धको थप मात्रा खोप दिने अभियान रोकेको छ । ठूलो संख्यामा नागरिकले खोप नपाएको र नयाँ भेरियन्टको जोखिम बढेको भन्दै खोप नपाउनेलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने नीति मन्त्रालयले लिएको हो ।

सोमबार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाको थप मात्रा खोप दिने निणर्य गरेको थियो । त्यसको २४ घन्टा नबित्दै स्वास्थ्य मन्त्रालयले महाशाखाको निणर्य रद्द गरेको हो । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले सबै नागरिकलाई कोभिडको पूर्ण मात्रा खोप उपलब्ध गराएपछि मात्रै थप मात्राको निणर्य गर्ने बताइन् ।

कतिले लगाए खोप ?
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार बुधबार दिउँसोसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय २७ मात्रा खोप प्राप्त भएको छ । हालसम्म दुई करोड ५५ लाख २१ हजार ६ सय ३९ मात्रा खोप लगाइएको छ । एक करोड ४७ लाख १७ हजार दुई सय २६ जनाले एक मात्रा लगाएको र एक करोड आठ लाख चार हजार चार सय १३ जनाले पूणर् मात्रा लगाएको उनले बताए ।

सीमा नाकाको अवस्था

गड्डाचौकी कञ्चनपुर : संक्रमित बढ्दै, भारतबाट आउने सीधै घर पुग्छन्

दिल्लीबाट ३८० किलोमिटर दूरीमा रहेको गड्डाचौकी नाकाबाट भित्रिनेमा पजिटिभ रिपोर्ट आउनेको संख्या बढिरहेको छ । सोमबार चारजनामा देखिएकोमा मंगलबार नौजनामा पजिटिभ देखिएको छ ।

जमुनाह बाँके : रुपैडिहामा संक्रमण तीव्र, सबैको परीक्षण छैन

सीमावर्ती बजार रुपैडिहामा संक्रमण तीव्र छ । दैनिक सयौँ नेपाली र भारतीय नेपालगन्ज-रुपैडिहा आउजाउ गर्छन् । तर, जमुनाह नाकामा लखनउ दक्षिणबाट आउनेको मात्रै एन्टिजेन परीक्षण गरिएको छ ।

गौरीफन्टा धनगढी : दुई दिनमै ५७ जनामा संक्रमण

भारतबाट दैनिक करिब चार सय व्यक्ति गौरीफन्टा नाका भएर भित्रिन्छन् । नाकाको हेल्थ डेस्कका ल्याब टेक्निसियन जयराज ढुंगानाका अनुसार मंगलबार र बुधबार मात्रै ५७ जनमा पजिटिभ देखिएको छ ।

बेलहिया भैरहवा : हरेक दिन दोब्बरले बढ्न थाले संक्रमित

बेलहिया नाकामा केही दिनदेखि संक्रमितको संख्या दोब्बरले बढेको छ । दैनिक २५० भन्दा बढी व्यक्ति भित्रिने गरेको यो नाकामा सोमबार १०, मंगलबार १७ र बुधबार ३५ जनामा संक्रमण देखिएको छ ।

वीरगन्ज पर्सा : नाकामा भिड बढ्यो, परीक्षण अत्यन्त न्यून

वीरगन्ज नाका हुँदै भित्रिनेको संख्या बढेको छ । तर, परीक्षण बढेको छैन । सोमबार पाँच सय, मंगलबार सात सय र बुधबार आठ सयजना भित्रिएकोमा क्रमशः १३८, १४५ र १४८ को मात्रै परीक्षण भयो ।

जोगबनी विराटनगर : भित्रिनेको संख्या बढ्दै, परीक्षण झन् घट्दै

भारतबाट जोगबनी नाका हुँदै दैनिक पाँच सयदेखि सात सयको हाराहारीमा भित्रिने गरेका छन् । यो संख्या दैनिक बढ्दो छ, तर नाकामा रहेको हेल्थ डेस्कमा परीक्षण भने झन्झन् घटाइँदै छ ।

काँकडभिट्टा झापा : दैनिक हजार भित्रिन्छन्, ३० जनाको मात्रै परीक्षण

काँकडभिट्टा नाकाबाट सोमबार ८४१ जना भित्रिएकामा तीनजनाको मात्रै परीक्षण भयो । मंगलबार भित्रिएका ९२९ मध्ये ३० जनाको मात्रै परीक्षण भयो । बुधबार भित्रिनेको संख्या ११०३ पुग्दा परीक्षण भने झन् घटाएर २० जनाको मात्रै भयो । प्रहरीको तथ्यांकअनुसार १ पुसदेखि बुधबारसम्म १३,२५९ जना भित्रिएकोमा ४५८ को मात्रै एन्टिजेन परीक्षण गरिएको छ ।

भारतमा एक सातामा संक्रमण पाँच गुणाले बढ्यो : राजधानी दिल्लीमा सातामा दुई दिन कर्फ्यु
ओमिक्रोन भाइरस भित्रिएसँगै कोरोनाको तेस्रो लहर फैलिएको भारतमा एक सातामै संक्रमणदर झन्डै पाँच गुणाले बढेको छ । अघिल्लो बुधबार नौ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार ४२ हजार एक सय ७४ जनामा कोरोना पजिटिभ देखिएको भारतीय स्वास्थ्य मन्त्रालयको रिपोर्ट छ । भारतमा बुधबार पाँच सय ३४ को मृत्यु भएको छ । संक्रमण बढेसँगै निजी कार्यालयमा कर्मचारीको भौतिक उपस्थिति घटाउँदै लगिएको छ । घरबाट काम गर्न निर्देशन गरिएको छ । सातामा दुई दिन राति कफ्र्यु लगाइएको छ । तर, संक्रमण बढ्ने क्रम रोकिएको छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७