चिसोले कठ्यांग्रिएर महिला बेहोस्, अस्पताल लैजाने तयारी गर्दागर्दै गयो ज्यान


२२ पुष २०७८, बिहीबार
death

सिरहा । चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका-१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । चिसोले घरमै बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको कल्याणपुर-१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।

यसअघि गत मंगलबार चिसोकै कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ मा ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ मा ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सो उपमहानगरपालिकासहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दिएका हुन् ।

चिसोका कारण निमोनिया, कोल्डडायरिया, दम, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको संख्या बढ्न थालेको छ । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी असर पारेको पाइएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७