राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल, सातै प्रदेशमा संयन्त्र


२२ पुष २०७८, बिहीबार
gathbandhan TUetPTNjph

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपिल गर्दै सातै प्रदेशमा संयन्त्र निर्माण गर्ने निणर्य गरेको छ । गठबन्धनमा आवद्ध दलहरूका बीच राजनीतिक समन्वयका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीबार बसेको बैठकले सात वटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निणर्य गरेको हो ।

बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निणर्य गरेको जानकारी दिए ।

‘राष्ट्रिय सभाको निर्वाचन छ, त्यसमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन बैठकले अपिल गरेको छ, साथै ती उम्मेदवारलाई विजयी गराउनका लागि सातवटै प्रदेशमा पाँचदलीय संयन्त्र बनाउने निणर्य भएको छ,’ मन्त्री कार्कीले भने । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ । देउवा आगामी आइतबार चार दिने भारत भ्रमणका लागि २५ सदस्यीय टोलीसहित जाँदैछन् ।

गठबन्धनभित्रै विवादका बीच गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजकमा हाल कांग्रेस नेता रामचन्द्र पौडेल छन् । पौडेलले बुधबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट पुगेर भेटेका थिए । बिहीबारको बैठकमा पौडेलले ओलीसँगको भेटवार्ताको विषय प्रस्तुत गरेका छन् । बैठकमा प्रतिनिधिसभाको अवरोध खुलाउनेसहित पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा भएको छ । बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७