जलवायुमा परिवर्तन : ६ हजार मिटरमाथि मात्रै हिउँ


२३ पुष २०७८, शुक्रबार
mountain

बझाङ । बझाङको साइपाल गाउँपालिका-२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए । बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो । बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए ।

‘ससाना हिमनदी तर्न हिमसाँघु (हिउँ जमेर बनेका ससाना पुल) थिए । हामी धेरै हिमनदीमा जमेको हिउँको साँघु तरेका थियौं । तर, अहिले ती स्थानमा काठका साँघु बनाइएका छन्’, विक भन्छन्, ‘करिब १ हजार मिटरसम्म हिउँ पग्लिएको छ ।’

उक्त हिमाल चीनको तिब्बतसँग जोडिएको क्षेत्र हो । ‘दुई दशकअघि साइपाल हिमाल जाँदा ४ हजार मिटरको उचाइमै हिउँ सुरु हुन्थ्यो’, उनी भन्छन्, ‘तर, अहिले ६ हजार मिटरबाट मात्रै हिउँ देख्न पाइन्छ ।’ हिमालमा वैशाख र जेठमा पनि हिउँ भइरहने क्षेत्र घटिरहेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण हिउँ पग्लिन थालेपछि हिमताल, हिमझरना पनि सुक्न थालेका छन् । सेताम्मे देखिने पानीका झरनामा पानी घट्न थालेपछि तिनीहरूको सुन्दरतामा ह्रास आएको छ ।

दुई/तीन दशकअघि हिमाल भएको स्थान मरुमूभि जस्तै भएको छ । त्यतिबेला स्थानीयवासी हिउँमा यार्सागुम्बा खोज्न जाने गर्थे । ‘हरेक व्यक्तिले दैनिक १ हजारदेखि १५ सयसम्म यार्सागुम्बा संकलन गरेका उदाहरण छन् । तर, हिमालको आयतन घट्यो, क्षेत्र पनि घट्यो । अहिले दुई-ढाई सय मात्रै यार्सा संकलन हुन्छ’, साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामी भन्छन् ।

साइपाल हिमाल ७ सय ३१ मिटर उचाइमा छ । दुई दशकअघि गर्मीयाममा पनि ४ हजार मिटरदेखि हिउँ देखिन्थ्यो । तर, अहिले हिउँ पग्लिएर माथि गएको छ । ‘अहिले ६ हजार मिटरदेखि मात्रै हिउँ सुरु हुन्छ । यो भनेको जलवायुमा आएको परिवर्तन भन्न सकिन्छ’, गाउँपालिका अध्यक्ष धामी भन्छन्, ‘हिमाल जोगाउन संघीय सरकारको कुनै दीर्घकालीन योजना आउनु जरुरी छ ।’ अन्नपूणर् पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७