थप २४ जनामा ओमिक्रोन पुष्टि भएपछि मन्त्रालयले अस्पतालहरुलाई भन्यो-तयारी अवस्थामा बस्नूू


२३ पुष २०७८, शुक्रबार
health

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को ओमिक्रोन भेरियन्टले गर्दा अस्पतालहरुमा अत्यधिक चाप हुनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारका लागि अक्सिजनलगायत अन्य सामग्रीको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ । ओमिक्रोनका कारणले अत्यधिक मात्रामा कोभिड केसहरु बढ्न सक्ने भएकाले आवश्यक सजगता अपनाउन पनि मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नयाँ भेरियन्ट पहिचानका लगि अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै वीर, सिभिल, वीरेन्द्र सैनिक, त्रिवी शिक्षण अस्पतालका साथै प्रदेश-२ को जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट सरकारले जिन सिक्वेन्सिङ परीक्षण गरिरहेको छ ।

नेपालमा थप २४ जनाको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ । पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट १ हजार १४६ वटा नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो । सो नमूनाहरुमध्ये २५० वटामा एस जिन नेगेटिभ देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७