ओमिक्रोनले तेस्रो लहरको जोखिम


२४ पुष २०७८, शनिबार
Omicron Virus KNmtMCm4wM

काठमाडौं । नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ । नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो ।

कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राले एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन् ।

मुलुकभरबाट र्‍यान्डम स्याम्पलिङ विधिबाट संकलित पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरूको परीक्षण गरिएको हो । १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गर्दा २ सय ५० वटा नमुना (२२ प्रतिशत) मा एसजिन नेगेटिभ आएको थियो। मिश्राले संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिइन् ।

यसअघि पहिलो पटक मंसिर २० गते नेपालमा पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते अर्को जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । सीमावर्ती भारतका सहरबाट गरिएको स्वाब संकलनमा कोरोना भाइरस पुष्टि हुने क्रम बढ्दो छ ।

मन्त्रालयका अनुसार, शुक्रबार आरटी पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कोभिड—१९ फोकल पर्सन निरज बमका अनुसार, ओमिक्रोन भेरियन्टको संक्रमणको जटिलताले धेरै प्रभाव पर्छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ जना छन् ।

ओमिक्रोन भेरियन्टका कारण गम्भीर बिरामी हुने सम्भावना नरहेता पनि संक्रमण दर उच्च हुँदा अस्पतालमा दबाब पर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीका अनुसार, नेपालमा ओमिक्रोन संक्रमणले तेस्रो लहरको जोखिम निम्त्याउने जोखिम छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक उनले अन्नपूणर्सँग भने, ‘धेरै जनसंख्या कोरोनाविरुद्धको खोपबाट वञ्चित छ । ओमिक्रोन भेरियन्टका कारण कोरोनाको तेस्रो लहर निम्तिने जोखिम छ ।’ मुलुकमा कुल जनसंख्याको ३६.२ प्रतिशतले मात्र पूणर् मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १८ वर्ष माथिका ५५.२ प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् ।

खुला सीमाको चुनौती
डब्लूएचओले विश्व पुनः कोभिडको नयाँ लहरमा प्रवेश गरेकाले कमजोर ठान्नु भूल हुने चेतावनी दिइसकेको छ । नेपाल र भारत खुला सीमाका कारण रोकथामका उपायमा चुनौती थपिएको विज्ञहरू बताउँछन् । खुला सीमा भएकाले बिना व्यवधान आवागमन हुँदा सीमा क्षेत्रमा कडाइ गर्न कठिनाइ भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १३ स्थानमा मात्रै हेल्थ डेस्क छन् ।

नेपालगन्जस्थित जमुनाहा नाका हेल्थ डेस्कका ल्याब इन्चार्ज चिरञ्जीवी ज्ञवालीका अनुसार सोमबार भारतबाट आएका व्यक्तिलाई एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ७ पुरुष र ३ महिलालाई कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये कालीकोटका ४, दाङका ३, बाँकेका २ र कैलालीका १ छन् । कोरोना पुष्टि भएकाहरूमा ४ जना हरिद्वार, ३ जना दिल्ली, २ जना उत्तर प्रदेश र १ जना महाराष्ट्रबाट आएका हुन् ।

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले संक्रमण तीव्र रूपमा नफैलिन प्रभावकारी ढंगले पूर्वतयारी हुन नसकेको बताए । दुई सातायता तुलनात्मक रूपमा एस जिन नेगेटिभ हुने प्रवृत्ति बढ्दो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मन्त्रालयकी प्रवक्ता मिश्राले नेपालमा हालसम्म उपलब्ध तथ्यांकलाई आधार मान्दा ओमिक्रोनका कारण अत्यधिक मात्रामा कोभिड-१९ का केस बढ्न सक्ने सम्भावना रहेको बताइन् ।

ओमिक्रोनले गर्दा हुन सक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रवक्ता मिश्राले जानकारी दिइन् । उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत सामग्रीको यथेष्ट जोहो गर्न निर्देशन दिइएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७