प्रचण्डलाई कोरोना संक्रमणपछि प्रधानमन्त्रीसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा


२४ पुष २०७८, शनिबार
gathabandhan

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ । अध्यक्ष प्रचण्डसँगै माओवादीका शीर्ष नेताहरूलाई पनि कोरोना संक्रमण भएको छ ।

सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा प्रचण्डलाई कोभिड-१९ पोजिटिभ देखिएको थियो । प्रचण्ड शुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूणर्बहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संलग्न थिए ।

माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ पनि बैठकमा सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए । दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैठकमा सहभागी सबै नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

कांग्रेस उपसभापति खड्का भने माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भइसकेपछि आफू आइसोलेसनमा बसेको जानकारी दिएका छन् । प्रचण्डको सचिवालयले स्वास्थ्यमा असहजता देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी एन्टिजेन र आरटी-पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ,’ दाहालको सचिवालयले भनेको छ, ’यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनु हुनेछ । स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेसनमा रहनु हुनेछ ।’

दाहाल निवास खुमलटारमा बस्दै आएका सबैको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो । जसमा उनका स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण भेटिएको थियो । दाहाललाई ज्वरो आएको थियो भने मल्ललाई खोकी लागेको बताइएको छ ।

त्यसअघि दाहाललाई बधाई दिन आएका र उनीसँग बैठकमा रहेका नेता तथा कार्यकर्ताहरूलाई कोरोना संक्रमण भेटिएको थियो । ८ औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीबाट दाहाल अध्यक्षमा पुस १९ गते निर्विरोध चयन भएका थिए । त्यसपछि दाहाल निवासमा बधाई दिनेको भीड लागेको थियो ।

दाहालसँग निरन्तर सम्पर्कमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । त्यस्तै, माओवादी नेताहरू मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोरोन संक्रमण भएको छ । यी नेताहरू पछिल्लो समय दाहालको सम्पर्कमा रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७