झाँक्रीको आश्रममा किशोरीको मृत्यु, त्रिशुलले घोची-घोची हत्या गरिएको परिवारको आरोप

दोषीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको माग


२४ पुष २०७८, शनिबार
dhami WbhStI67RZ

काठमाडौं । उपचारका लागि झाँक्री (माता) को घरमा लगिएकी भक्तपुर बोडेकी एक १४ वर्षीया बालिकाको शंकास्पद रुपमा मृत्यु भएको छ ।
टाउको दुख्ने सामान्य विरामको उपचारका लागि रानीवन नागार्जुन नगरपालिका-१ स्थित माता उमा शाही ठकुरीकोमा लगिएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको आज विहान शंकास्पद रुपमा मृत्यु भएको हो । सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-२ स्थायी घर भई हाल भक्तपुर बोडेमा अस्थायी बसोबास भई बालिका सोही ठाउँमा कक्षा सातमा पढ्दै थिइन् ।

बालिकामा टाउको दुख्ने समस्या रहेका कारण झाँक्रीलाई उपचार गराउँदा ठिक हुने सुनेपछि आमा राधिका श्रेष्ठले यहि पुस ३ गते छोरी रोशनीलाई ४८ वर्षीया माता उमा शाही ठकुरीको घरमा लिएर गएकी थिइन् । माता ठकुरीले केहि दिन आफ्नोमा रोशनीलाई छाडेर जानु म ठिक गरिदिन्छु भनेको तर, आज विहान एकै पटक बालिका बेहोस छ छिटो आउनु भनेर फोन गरेको आमा राधिका श्रेष्ठले जानकारी दिइन् । छोरी वेहोस भएको खबर माताले गरेपछि अतालिंदै आफन्तसहित माताकोमा पुगेर छोरी रोशनीलाई काठमाडौं स्वयम्भूस्थित मनमोहन अस्पताल ल्याए पनि डाक्टरहरुले बालिकाको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको बालिकाका आफन्त दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए ।

मृत्तक बालिकाको नाकबाट रगत बगेको, ढाड निलडाम रहेको खुट्टामा तिखो बस्तुले घोचिएको जस्तो चोट रहेको र दिसा-पिसाव समेत रहेकाले बालिकालाई कुटेर हत्या गरिएको आरोप आफन्तले लगाएका छन् । बालिकाको रहस्यमय मृत्युपछि प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ भने बालिकाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । बालिकाको आफन्तले माताले उपचारका नाममा कुटपिट गर्दा रोशनीको ज्यान गएको भन्दै महानगरीय प्रहरी परिसर स्वयम्भूमा जाहेरी दिएका छन् ।

उपचारमा लगिएकी बालिकाको विद्यालयमा ५-६ दिन परीक्षा छ घर लैजान्छु भन्दा समेत माता ठकुरीले छुटेको परीक्षा पछि दिंदा पनि हुन्छ भनेर छोरीलाई घर ल्याउन नदिएको आमा राधिका श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘कहिलेकाँही छोरीले टाउको दुख्छ भन्ने गरेकाले माताकोमा उपचार गर्दा ठिक हुन्छ भनेको सुनेर लगेर गएको अनि छोरीको उपचार गरी ठिक बनाई दिन्छु भनेकाले विश्वासले माताकोमा छाडेर आएको आमा राधिकाले सुनाइन् । छोरीलाई कुटीकुटी हत्या गरेपछि आज विहान फोन गरेर वेहोस छ भनेर आफूलाई जानकारी गराएको उनले बताइन् ।

रानीवन नागार्जुन नगरपालिका-१ मा ट्रष्टको छाप्रो बनाएर विरामीहरुको उपचार गर्दै आएकी माता ठकुरीले बालिकालाई कुटपिट गरेको स्थानीयले देखेको आफूहरुलाई जानकारी दिएका आफन्त दुर्गाबहादुरले जानकारी दिए । अहिले प्रहरीले माता ठकुरीलाई नियन्त्रणमा लिएर घटनाको आवश्यक अनुसन्धान अगाडि बढाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जानकारी दिंदै महानगरीय प्रहरी परिसर स्वयम्भूका डिएसपी मिलन केसीले मातालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइसकिएको र बालिकाको पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा जानकारी हुने बताए ।

बालिकाको बाबु यमबहादुर श्रेष्ठ रोजगारीका लागि सात वर्षदेखि मलेशियामा छन् । बालिकाका आफन्तले सामान्य रुपमा उपचारका लागि छाडिएकी बालिकालाई कुटपिट गरी हत्या गरिएको आरोप लगाउँदै माता ठकुरीमाथि आवश्यक अनुसन्धान गरी कडा भन्दा कडा सजाय र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाइनु पर्ने माग राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७