शीर्ष नेताहरुमा कोरोनाको सन्त्रास, सबै जना भट्टाभट्ट एकान्तबासमा


२५ पुष २०७८, आईतवार
vip

काठमाडौं । नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएयता राज्यको शीर्ष तहका नेताहरुमा कोरोना भाइरस संक्रमणसँगै सन्त्रास फैलिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा हिजो साँझदेखि आइसोलेसनमा बसेका छन् । उनको कोभिड-१९ को परीक्षण आज हुने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री आइसोलेसनमा बसेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी भएका थिए ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित हिजो र अस्तीको बैठकमा सहभागी सत्ता गठबन्धनका डेढ दर्जन शीर्ष नेता समेत कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । माओवादी नेताहरु प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादवलगायत आधा दर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यता हिजो बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा देउवाले भेटवार्ता गरेका थिए । सोही भेटका कारण ओली पनि कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको छ । शनिबारदेखि आइसोलेट भएका प्रधानमन्त्री देउवापछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा बसेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्की प्रधानमन्त्री देउवासँगै शुक्रबार प्रचण्ड सहभागी सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए।

यसैकारण सञ्चारमन्त्री कार्की शनिबारदेखि नै भेटघाट बन्द गरेर आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ । आज प्रधानमन्त्री र सञ्चारमन्त्री दुवैको कोरोना जाँच गर्ने उनीहरूका सचिवालयले जनाएका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेका देउवाले ओलीलाई भेटेपछि ओली पनि स्वतः कोरोनाको जोखिममा परेका छन् । भलै ओली आइसोलेसनमा बस्ने-नबस्नेबारे अहिलेसम्म केही खुलाइएको छैन । यस्तै देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए । प्रचण्डसहितका माओवादी केन्द्रका नेताहरुमा कोरोना देखिएसँगै भीआईपी तहमा कोरोना छरपस्ट भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७