कोरोना संक्रमण बढेपछि उपत्यकाका तीन जिल्लाकै सीडीओहरू आन्तरिक छलफलमा


२५ पुष २०७८, आईतवार
341641708462

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् ।

स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न र स्थिति थप जटिल हुन नदिन आवश्यक तयारी गर्नेबारे सीडीओहरूले आ-आफ्नो जिल्लामा छलफल गर्न लागेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दिउँसो साढे २ बजे सरोकारवालाहरूसँग छलफल गर्न लागेको बताए । उनले दिउँसो खोप समितिको बैठक बोलाइएको र बैठकमा बढ्दो कोरोना संक्रमणबारे पनि छलफल हुने बताए ।

‘यो नियमित बैठक हो । खोप कार्यक्रम र यसको उपलब्धताका विषयमा छलफल हुन्छ । यसका साथै, बढ्दो कोरोना संक्रमण र यसको रोकथामका विषयमा पनि छलफल गर्छौं’, प्रजिअ उपाध्यायले भने । यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा पनि दिउँसो २ बजे सरोकारवालाहरूको बैठक बोलाइएको बताइन् ।

बैठकमा कोरोना संक्रमण, विपद् व्यवस्थापन र आउँदो माघ २ गते मनाइने भूकम्प सुरक्षा राष्ट्रिय दिवसका विषयमा छलफल हुने बताइन् । ‘पछिल्ला दिनमा कोरोना संक्रमण बढिरहेको छ । सीसीएमसीको निर्देशन र निणर्य पाइसकेका छैनौं तर, आफ्नो हिसाबले जिल्लामा कसरी संक्रमण कम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्छौं’, प्रजिअ शर्माले भनिन्, ‘त्यसपछि गृह मन्त्रालयको निर्देशन र स्वास्थ्य मन्त्रालयको प्राविधिक पक्षलाई मध्यनजर गरेर केही दिनमा निणर्य होला ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पनि जिल्लाले आन्तरिक छलफल गरिरहेको बताए । ‘जिल्लामा आन्तरिक तयारी र छलफलका विषयमा कुराकानी भइरहेको छ’, प्रजिअ रिजालले भने, ‘तीन जिल्लाका सीडीओहरूको संयुक्त बैठक भने तय भएको छैन । केही दिनमा संयुक्त बैठक हुन सक्छ ।’

उनले कोरोना संक्रमण अवस्था हेरेर त्यसको रोकथामका लागि के गर्न सकिन्छ, यसअघिकै अभ्यासलाई निरन्तरता दिने वा नयाँ ढंगले जाने भन्नेबारे छलफल हुन बाँकी रहेको बताए । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमण बढ्न थालेपछि शुक्रबार सीसीएमसीको बैठक बसेको थियो । तर, बैठकका निणर्य भने सार्वजनिक भइसकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७