कोरोना बढेका कारण १५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय


२५ पुष २०७८, आईतवार

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि तीन साता विद्यालय बन्द हुने भएका छन् । आज (आइतबार) बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोक्नका लागि विद्यालय बन्द गर्ने निणर्य भएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले बताइन् ।

बालबालिका सबैले खोप लगाउन नपाएकाले अहिले १५ माघसम्मका लागि विदा गर्ने निणर्य भएको उनले जानकारी दिइन् । ‘अहिले देशभर विद्यालय गर्ने निणर्य गरेका छौं । कुनै स्थानीय तहले संक्रमण छैन भनेर समन्वय गरेमा विद्यालय सञ्चालन गर्न पाइनेछ’, उनले भनिन् ।
‘अझै पनि सबै नागरिकलाई खोप पुग्न सकेको छैन । १८ वर्षमुनिका सबै विद्यार्थीलाई कोरोना खोप लगाउन नसकेको अवस्था छ’, उनले भनिन्, ‘कोरोनाको बढ्दो दरलाई ख्याल गर्दै व्यवस्थापन समन्वय केन्द्रको बैठकले यस्तो निणर्य लिएको हो ।’

हरेक जाडो महिनामा विद्यालयहरु केही साता बन्द गर्ने गरिन्छ । नेपालले सुरुमा कोभिडको जोखिमलाई ख्याल गरेर १५ दिन बिदा दिने निणर्य गरिएको बताइन् । जोखिम हेरेर त्यसलाई एक महिनासम्म लैजान सकिने उनले बताएकी छन् । व्यवस्थापन केन्द्रको निणर्य अब मन्त्रिपरिषद्बाट निणर्य गराएर कार्यान्वयनमा लगिने छ ।

कोभिड-१९ संकट व्यवस्थापन निर्देशक समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिन सक्थ्यो । तर व्यवस्थापनको बैठकको निणर्यलाई भने मन्त्रिपरिषद्मा लगेपछि स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । उपत्यकासहित देशका धेरै स्थानमा अहिले आन्तरिक परीक्षा चलिरहेको छ। परीक्षा सकिएका विद्यालयले कम्तीमा एक साता बिदा दिइसकेका छन् । यो पटक धेरै विद्यालयले पुस मसान्तबाट जाडो बिदाको तयारी गरेका छन् ।

विद्यालयमा छोटो बिदा दिने चलन भए पनि कलेजहरूमा भने लामो जाडो बिदा दिने चलन छ । कोभिड बढ्नुअघि नै त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्मलाई बिदा दिइसकेको छ । केही दिनयता देशभर कोरोना संक्रमण बढेको छ । त्यससँगै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पनि संक्रमण देखिएको छ । आज देशभर १,१६७ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार ९४४ जनामा कोरोना देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७