सुचीलाई थप चार वर्ष जेल


२६ पुष २०७८, सोमबार
suki

म्यानमार । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेल सजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चार वटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको सैनिक अदालतले उनलाई थप चार वर्ष जेल सजाय सुनाएको हो ।

उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ ।

गत महिना उनलाई कोभिड-१९ को मापदण्ड उल्लंघन गरेको आरोपमा चार वर्ष जेलसजाय सुनाइएको थियो । पछि म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले दुई वर्ष सजाय घटाएर दुई वर्षमात्र जेलसजाय तोकिएको थियो ।

सैन्य ‘कू’ गरेपछि गत वर्ष फेब्रुअरी १ मा सेनाले ७६ वर्षीया सुचीको घरमा तलासी लिँदा बिना लाइसेन्सको वाकी टकी फेला पारेको थियो । उनीमाथि दर्जनभन्दा बढी आरोपहरू लागेका छन् । सुचीले भने ती सबै आरोपहरू कपोकल्पित भएको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७