कोरोना कहर : एमसीसी अध्ययन कार्यदलको बैठक प्रभावित


२६ पुष २०७८, सोमबार
mcc

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययन गर्न गठित पाँच दलीय गठबन्धनको ‘एमसीसी अध्ययन कार्यदल’ को बैठक प्रभावित भएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पुस पहिलो साता गठित तीन सदस्यीय कार्यदलको बैठक कोरोना संक्रमणका कारण प्रभावित भएको हो ।

कार्यदलको पहिलो बैठक पुस ७ गते पहिलो पटक बसे पनि त्यसयता बैठक बस्न नसकेको र अध्ययन प्रक्रिया अघि बढ्न नसकेको कार्यदलका संयोजक खनालले जानकारी दिए । ‘कार्यदलले सामान्य अध्ययन गरिरहे पनि ठोस रुपमा केही भएको छैन । कार्यदलको बैठक पुस पहिलो साता बस्यो, त्यसपछि बस्न सकेको छैन’, संयोजक खनालले भने, ‘पुनः बस्ने भन्दाभन्दै कोरोनाले कार्यदलका सदस्यमा संक्रमण देखिएपछि बैठक नै प्रभावित बनेको छ ।’

खनालको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् । कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता श्रेष्ठ हाल कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् ।
एमसीसीका विवादित बुँदा अध्ययन गरेर गठबन्धनको बैठकमा छलफल गरेर साझा धारणा बनाउने गठबन्धन भित्र प्रयास भइरहेको बताइन्छ । संयोजक खनालको निवासमा पुस ७ गते बसेको पहिलो बैठकले एमसीसीबारे थप डकुमेन्टहरू जुटाएर अध्ययन गर्ने निणर्य गरेको थियो ।

त्यसका लागि केपी ओली नेतृत्वको सरकार र एमसीसीबीच भएका भनिएका थप सहमतिहरु खोज्ने र अध्ययनका आधारमा सुझाव पेश गर्ने कार्यदलले जनाएको थियो । स्रोतका अनुसार ओली नेतृत्वको सरकारका पालामा भएका कतिपय एमसीसीसँग सम्बन्धित सहमतिहरु लुकाइएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७