प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : जितेन्द्रको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मीको शानदार जित


२६ पुष २०७८, सोमबार
Capture1641795600

काठमाडौं । मध्यम गतिका बलर जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि त्रिभुवन आर्मीले सोमबार कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्यटिङ गरेको त्रिभुवन आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको हो । ११७ रनको लक्ष्य पछ्याएको कर्णाली ले १४.४ ओभरमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो । जितेन्द्रले चार ओभरमा १५ रन दिएर चार विकेट लिएका थिए । जितेन्द्रले शीर्ष क्रमका ब्याट्सम्यानलाई चाँडै पवेलियनको बाटो देखाएपछि कर्णाली प्रदेशका कुनै पनि ब्याट्सम्यानले लामो साझेदारी गर्न सकेनन् ।

जितेन्द्रलाई सुशन भारी र शाहब आलमले समान दुई विकेट लिएर साथ दिए । साविक विजेता त्रिभुवन आर्मीका सोमपाल कामी र बिक्रम सोबले एक एक विकेट लिए । कर्णाली का अर्जुन घर्तीले सबभन्दा धेरै १६ र ओपनर रविन्द्र शाहीले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुको बर्चश्व रहेको त्रिभुवन आर्मीका लागि कप्तान विनोद भण्डारीले सबभन्दा धेरै २९ रन बनाए । हरि चौहानले २० तथा रोहितकुमार पौडेल र कुशल मल्लले समान दश रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनिङमा गएका सोमपाल कामीले ९, सुशन भारीले ८, राजेश पुलामीमगरले २, बिक्रम सोबले एक रन बनाउँदा जितेन्द्र मुखिया ८ रनमा अविजित रहे । कर्णाली प्रदेशका प्रकाश जैशीले तीन, अनुज चुनाराले दुई तथा दिनजेश अधिकारी र रविन्द्र शाहीले एक एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७