सरकारको पहिलो प्राथमिकता विद्युत खपत : उर्जामन्त्री

‘निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने तयारी भइरहेको छ’


२६ पुष २०७८, सोमबार
pamfa 1

काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि विद्युत व्यापार गर्न दिने तयारीसहित कार्यविधि बनाइरहेको बताएकी छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) ले आज (सोमबार) आयोजना गरेको नेपाल पावर समिटमा मन्त्री भुसालले निजी क्षेत्रलाई पनि विद्युत व्यापार गर्न दिने तयारी भइरहेको जानकारी गराएकी हुन् ।

र्ईप्पानले प्रवद्र्धन गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेडले विद्युत व्यापार गर्न दिन दुई वर्ष अगाडिदेखि माग गर्दै आएको छ । कम्पनीले भारतमा विद्युत व्यापार गर्न भारतीय कम्पनी मनिकरन पावर लिमिटेडसँग विद्युत व्यापार खरिद सम्झौता गरेको छ ।
कार्यक्रममा उनले सरकारको सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजाने रहेको बताइन् । यसका लागि सरकारले विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको उनले बताइन् ।

‘अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसरको विद्युत उपलब्ध गराउँदै आएका छौँ । साथै हामीले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वान समेत गर्दै आएका छौं’, उनले भनिन् ।

विद्युत् आर्थिक विकासका लागि कच्चा पदार्थ पनि रहेको भन्दै उनले सोही कारण देशले चाहेको समृद्धिका लागि विद्युत उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिइन् । ‘हाम्रो देशको प्रतिव्यक्ति विद्युत खपत न्यून छ । यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७ सय युनिट पुर्याउनुपर्नेछ । यसका लागि हाम्रो आन्तरिक विद्युत खपत करिब ५ हजार मेगावाट पुर्‍याउनु पर्दछ ।’ हाल नेपालमा पिक आवरको विद्युत माग करिब १६ सय ५० मेगावाट रहेको छ ।

कार्यक्रममा ईप्पानका अध्यक्ष कृष्ण आचार्यले भारतसँग अब बिजुलीको सम्बन्ध पनि जोडिएको बताए । नेपालको उर्जाका लागि भारत महत्वपूणर् बजार रहेको भन्दै उनले निजी क्षेत्रले पनि भारतमा विद्युत निर्यात गर्न गरेको सम्झौता महत्वपूर्ण भएको बताए । उनले निजी क्षेत्रलाई पनि विद्युत व्यापारको लाइसेन्स दिन आग्रह गरे । भारत सरकारका पूर्व ऊर्जा सचिव आर भी शाही, लगानी बोर्डका सदस्य तथा नेपाल उद्योग परिसङ्घका पूर्व अध्यक्ष हरिभक्त शर्मा, मनिकरण पावर इन्डियाका एमडी नवजित सिंह कल्सीलगायतले उर्जाको महत्व र विकासका विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७