बौद्धिक अपाङ्गता भएका छोरीलाई जोगाउनै मुस्किल


२७ पुष २०७८, मंगलवार
Disabled people left review online 800x450 1

काठमाडौं । बौद्धिक अपाङ्गता भएकी १४ बर्षीया किशोरीलाई एक नातेदारले बलात्कार गरे । अपाङ्गता भएको छोरी जन्मिएकाले परिवार र समाजबाटै अपहेलना सहदै आएकी आमाले छोरीलाई नातेदारबाटै यौनहिंसा भइरहेको थाहा भए पनि कानुनी उपचार खोज्न सकिरहेकी थिइनन् ।

छोरीले राम्ररी बोल्न, बुझ्न नसक्ने, प्रतिकार गर्न नसक्ने भएकाले गर्भ बस्नबाट जोगाउन आमाले गर्भ निरोधक सुई लगाई दिने सोच बनाइन् । उनी छोरी लिएर एकद्वार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसि) पुगिन् । ‘महिनावारी सुरु नहुञ्जेल त केही समस्या थिएन, महिनावारी हुन थालेपछि डर भयो, हामी छोरी हेरेर बस्न नभ्याउने, काममा जानुपर्ने, जोगाउन गाह्रो हुने भयो, गर्भ निरोधक सुई लगाई दिन पाए पिरलो त हुँदैन थियो भनेर ल्याएँ,’ उनले ओसिएमसीका कर्मचारीलाई सुनाइन् । ओसिएमसिका स्वास्थ्यकर्मीले किशोरीको सम्पूणर् स्वास्थ्य परीक्षण गरे । ढाड र घाँटीमा छाला खोस्रेर घाउ भएको दाग देखियो । तिघ्रामा निल डाम भेटिए । पाठेघरको झिल्ली थिएन । ओसिएमसीले आमालाई मनोसामाजिक परामर्श गरायो । आमाले गर्भ निरोधक सुई नलगाएर घर लैजादा सुरक्षित राख्न नसक्ने भएपछि किशोरीलाई एक आश्रय गृहमा पुनस्थापना गरिएको छ ।

छ बर्षअघि नुवाकोटस्थित बहुअपाङ्गता भएकी २३ वर्षीया युवती छिमेकी दाइ पर्नेबाट बलात्कृत भइन् । बलात्कार भएपछि उनी गर्भवती भइन् । परिवारले एक स्वास्थ्य संस्थामा लगेर गर्भपतन गरिदिए । उनलाई केहि समय काठमाडौंमा नेपाल अपाङ्ग महिला संघको सुरक्षित आवास गृहमा राखियो । घर लैजाने बेला उनका बुवाले काठमाडौंकै एक अस्पतालमा लगेर गर्भ रोक्ने अस्थायी साधन नरप्लान्ट राखिदिएछन् । यो थाहा पाएपछि संघकी तत्कालीन अध्यक्ष निर्मला धितालले बुझिन् । ‘छोरीले प्रतिकार गर्न सक्दिनन्, बच्चा बस्यो भने स्याहार्न सक्दिनन्, गाह्रो हुन्छ, बरु सुई लगाउनु भनेर डाक्टरले सल्लाह दिएपछि लगाई दिएको भनेर परिवारले भने,’ धितालले सुनाइन् । सुई लगाइसकेको भएर उनले अस्पतालमा बुझिनन् । ती युवतीलाई परिवारले घरैमा राखेका छन् ।

यी प्रतिनिधिमुलक घटना मात्रै हुन् । बौद्धिक अपाङ्गताका भएका छोराछोरीका अभिभावकहरुको संस्था बौद्धिक अपाङ्गता आमा समाज ललितपुरकी सचिव सिर्जना केसी भन्छिन्, ‘बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक समस्या भएका छोरीहरुलाई परिवार तथा नातेदारबाटै यौन हिंसा तथा बलात्कार हुने, गर्भ बस्ने, झन समाजले घृणा गर्ने घटना धेरै छन्, यस्तो हुने डरले अभिभावकले गर्भ निरोधक साधन लगाई दिने गर्छन् ।’

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ ले परिवार नियोजन गरिने व्यक्तिको मञ्जुरी नलिई गर्भ निरोधक साधन प्रयोग गराउन नहुने व्यवस्था गरेको छ । यसकारण बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक समस्या भएका छोरीहरुका परिवारले बच्चा बस्नबाट जोगाउन सुइ लगाई दिने गरेको खुलेर भन्दैनन् ।

बौद्धिक अपाङ्गताका अभिभावकको महासंघ नेपालका अध्यक्ष राजु बस्नेतका अनुसार पाँच/छ बर्षअघि सार्वजानिक कार्यक्रम तथा सेमिनारहरुमै खुलेर छोरीलाई सुई लगाई दिने गरेको, पाठेघर फ्यालीदिने गरेको बताउने आमाहरु पछिल्लो समय लुकाउन थालेका छन् । यसरी यौन हिंसा तथा बलात्कारपछि गर्भ बस्नबाट जोगाउन यति नै संख्यामा बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक समस्या भएका छोरीहरुलाई गर्भनिरोधक साधन प्रयोग गरिन्छ भन्ने यकिन तथ्याङ्ग नभए पनि गोप्य रुपमा प्रयोग भइरहेको उनले बताए ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएकी निर्मला धितालले अभिभावक र अस्पतालको आपसी सहमतिमा गर्भ निरोधक सुई लगाई दिने काम भइरहेको बताइन् । ‘स्वयमं व्यक्तिले मञ्जुरी लिनदिन नसक्ने अवस्थामा, विवाह नभइकन, उमेरै नभइकन सुइ लगाउनु जबरजस्ती गरेको, मानवअधिकार हनन् गरेको हुने भयो, तर परिवारले पनि छोरी जोगाउन नसक्ने बाध्यता, डाक्टरले पनि परिवारसँग सहमति गराएर सुइ लगाई दिने भएकाले बाहिर थाहा दिदैनन्,’ उनले भनिन् ।

बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक समस्या भएका किशोरी तथा महिलाहरु महिनावारी भएको बेला सरसफाइ गर्न सक्दैनन् । कतिपय अभिभावकले महिनावारी रोक्ने औषधि नै खुवाइदिन्छन् । बौद्धिक अपाङ्गता भएकी एक किशोरीकी आमाले छोरीलाई महिनावारी हुने समयमा आफू घरबाट टाढा जानुपर्ने काम पर्दा महिनावारी पछाडि सार्ने औषधि खुवाइदिने गर्छिन् । उनी एक निजी संस्थामा कार्यालय सरसफाई गर्ने काम गर्छिन् । ‘संस्थाकै काममा कहिलेकाही केही दिनका लागि घर छाड्नुपर्छ, म नहुँदा महिनावारी भए कसले स्याहार्ने, एकैछिन ख्याल राखेन भने ‘ब्लड’ खाएर, लिपेर फोहोर गर्छे, त्यही भएर औषधि खुवाई दिने गरेकी छु ,’ उनले भनिन् ।

छोरीहरुलाई महिनावारी रोक्ने, गर्भ निरोधक औषधि खुवाउँदा, लगाउँदा स्वास्थ्यमा असर पर्ने थाहा हुँदाहुँदै पनि लगाउनुपर्ने बाध्यता रहेको रोल्पाकी एक आमाले बताइन् । उनले दिसा, पिसाब र महिनावारी समेत स्याहार्न नसक्ने छोरीलाई गर्भ रहनबाट जोगाउन तीन महिने सुई लगाई दिंदै आएकी छन् । ‘शरीरको हर्मोनहरु असन्तुलित हुन्छ, जिउ बिगार्छ, भन्ने थाहा भएर मात्रै के गर्ने ?’ उनले भनिन्, ‘पेट भर्नलाई काममा दिनभर जानैपर्‍यो, घरमा छोरी एक्लै भएको दाउ छोपेर पहिले पनि कसले बलात्कार गरेर बच्चा रह्यो, अस्पताल लगेर गर्भपतन गरायौं, मन दुखाएर भए पनि तीन महिने सुई लगाई दिने गर्छु ।’

महिनावारी रोक्ने, गर्भ निरोधक औषधि खुवाउने/लगाइदिने जस्ता बाध्यता बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक समस्या भएका छोरीहरु भएका अभिभावकको साझा समस्या रहेको अधिकारकर्मी रिता साह बताउँछिन् । उनी ‘माइल्ड’ अटिजम भएको छोराको आमा समेत हुन् । ‘हाम्रो परिवार, समाजमा यस्तो असुरक्षा छ कि मेरो यदि छोरी बच्चा भएको भए एक्लै छोड्न सक्दिन थिएँ,’ उनले भनिन्, ‘बलात्कारमा पर्ने, गर्भ बस्ने, तिरस्कृत हुने डरले अभिभावकहरु सुई लाउने, औषधि खुवाउने गर्नुहुन्छ, यसले उनीहरुको महिनावारी अनियमित हुने, पाठेघरमा घाउ हुने, शरीरमा अनेक असर पार्छ ।’

परिवारको बाध्यकारी अवस्थालाई समाधान गर्न राज्यले बिशेष व्यवस्था ल्याउनुपर्ने, परिवार र समाजले अपाङ्गता भएका महिलालाई हेर्ने नकरात्मक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताइन् । ‘यस्तो बालिका, किशोरी र महिलाहरुलाई सरकारले निःशुल्क हेरचाह गर्ने, सहयोगी सेवा दिने गर्नुपर्‍यो, छुट्टै स्कुलहरुको व्यवस्था गर्नुपर्‍यो, समाजले विभेद र हिंसाको नजरले हेर्नु भएन, मानसिकता फेर्नुपर्‍यो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७