पृथ्वीनारायणको देवत्वकरण र दानवीकरण दुबै नगरौं : बाबुराम भट्टराई


२७ पुष २०७८, मंगलवार
baburam bhattarai

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने टिप्पणी गरेका छन् । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा भट्टराईले ट्वीटमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

शाह इतिहासको आवश्यकता र आकस्मिकताका उपज भएको भट्टराईको भनाई छ । उनले समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझ्नुपर्ने बताएका छन् ।

गोरखाका सांसद समेत रहेका भट्टराईले लेखेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन् । कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पुँजीवाद जन्मने हो । अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं । चुरो कुरो यो हो !’

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०० औं जन्मजयन्ती मनाइएको हो । वि.सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

वि.सं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट विजय गरेका थियो। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सीमाना बढाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७