भीडभाडमा प्रशासनको कडाइ


२८ पुष २०७८, बुधबार
341641708462

काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासनले कोभिड भाइरस संक्रमण तीव्र रूपमा बढेपछि २५ जनाभन्दा बढी व्यक्तिहरू सहभागी हुने भेला, सम्मेलनलगायतका कार्यक्रममा रोक लगाएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी विभिन्न प्रतिबन्धात्मक घोषणा गरेको हो । २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउँदै १७ बुँदे आदेश पनि जारी गरिएको छ ।

ललितपुरका सीडीओ घनश्याम उपाध्यायले आवतजावतलाई कडाइ गर्न र सुरक्षा मापदण्डको पालनालाई कडाइ गर्न प्रतिबन्धात्मक कार्यक्रम अघि सारिएको बताए । ‘अत्यावश्यक बाहेकका सभा, मेला, सम्मेलन, उत्सव नगर्नका लागि अनुरोध गरिएको हो,’ उपाध्यायले भने, ‘पूर्व निर्धारित अत्यावश्यक कार्यक्रमहरू भए स्थानीयको स्वीकृति लिएर गर्न सकिने छ ।’

आदेशको अनुगमनका लागि सुरक्षा निकायलाई परिचालन गरिने सीडीओ उपाध्यायले जानकारी दिए । अनुगमन गर्दा आदेशको पालना नगरेको भए संक्रामक रोग ऐनअनुसार कारबाही गरिने जनाइएको छ । कोरोनाको पछिल्लो भेरियन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको उनले बताए ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिस एवं गृह मन्त्रालयको निणर्यअनुसार स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन,२०२० ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को प्रयोग गरी जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको हो । त्यस्तै राजनीतिक दलका सभा, सम्मेलनसहित भीडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ । सार्वजनिक स्थलमा निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सीडीओको बैठकले आदेश जारी गरेको छ । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ८० जना संक्रमित थपिएका छन् । उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५ सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ३ हजार ५ सय २१ जना, ललितपुरमा १ हजार ९० जना र भक्तपुरमा ६ सय ९९ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२ हजार ४ सय ४४ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ३३ वटा नमुनाको पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा १६ दशमलव २५ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको हो ।

३७ प्रतिशतले पूर्ण खोप
हालसम्म लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनाले पूणर् मात्रा खोप लगाएका छन् । एक मात्रा मात्रै खोप लगाउनेको संख्या ७६ दशमलव ५ रहेको छ । कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ छन् । यसमध्ये ३७ दशमलव ३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । ५० दशमलव २ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७