राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस


२८ पुष २०७८, बुधबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने भएको हो ।

सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनमा एमाले एक्लै मैदानमा छ । गठबन्धनका तर्फबाट भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धन दलका कारण एमालेलाई आफ्नो पुरानो सिट सुरक्षित राख्न सकस हुने देखिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धन अहिले सत्तामा छ । सत्तासीन दलका नेताले राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउँदै आएका छन्। यसैकारण राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि उनीहरूले गठबन्धन गरेका हुन् ।

राष्ट्रियसभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बिदा हुँदैछन् । निर्वाचन आयोगले माघ १२ गते हुने निर्वाचनको आचारसंहिता जारी गरिसकेको छ । खाली हुन लागेका २० सिटमा १९ निर्वाचनबाट छानिने र एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

सबैभन्दा ठूलो दल एमाले भदौमा विभाजित भएपछि प्रदेश र संघमा उसको सांसद संख्या घटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई हजार २५ मतदाता छन् । प्रदेश सांसद र पालिकाका प्रमुख-उपप्रमुख/अध्यक्ष-उपाध्यक्ष मतदाता हुन् ।

प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख-उपप्रमुख/अध्यक्ष-उपाध्यक्षको मतभार १८-१८ हुन्छ । प्रदेश १ बाहेक अन्य ६ वटामा सत्ता साझेदार गठबन्धन बलियो देखिएको छ । एमालेले प्रदेश १ मा नतिजा आफ्नो पक्षमा आउने झिनो आशा राखेको छ ।

प्रदेश १ मा जम्मा मतभार नौ हजार तीन सय १२ छ । निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीअनुसार प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य, पालिकाका अध्यक्ष-उपाध्यक्ष/प्रमुख-उपप्रमुख गरी २७२ जना मतदाता छन् । ‘अहिलेको अवस्थामा पुरानो मतभार रहेकाले एमालेलाई केही घाटा हुन्छ नै तर यसले हामीलाई खासै असर गर्दैन, नयाँ जनादेशमा जाँदा परिणाम फरक हुनेछ’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।

एमालेले प्रदेश १ मा खुलातर्फ झापाका देवराज घिमिरे र सुमित्रा भण्डारी तथा अल्पसंख्यकतर्फ सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ । ‘अहिलेको अवस्था नियाल्ने हो भने प्रदेश १ मा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा सफलता हासिल गर्न सक्छ’, रिजालले भने । अन्य प्रदेशमा भने एमालेले खासै आशा गरेको छैन । ‘एमालेसँग प्रतिस्पर्धा गर्नकै लागि राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तामा रहेका दलले गठबन्धन गरेका हुन्’, उपप्रमुख रिजालले भने ।

एमालेका खाली हुने आठ सिटमा सत्तागठबन्धन दलले कांग्रेसलाई तीन, जनता समाजवादी पार्टीलाई दुई, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक-एक सिट बाँडेर उम्मेदवारी दिएका छन् । प्रदेश १ मा गठबन्धन दलका तर्फबाट कांग्रेसले गोपालकुमार बस्नेत, नेकपा एकीकृत समाजवादीका तर्फबाट जयन्ती राईले उम्मेदवारी दिएका छन् । प्रदेश २ मा महिलातर्फ माओवादीकी उर्मिला अर्याल र एमालेकी विना साहले प्रतिस्पर्धा गर्दैछन् ।

यस प्रदेशमा एमालेबाट खुलातर्फ धनुषाका असर्फी भिनवार यादव उम्मेदवार छन् । यहाँ एमालेको जसपाका उम्मेदवारसँग प्रतिस्पर्धा हुनेछ । वाग्मती प्रदेशमा खुलातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीका तर्फबाट गोमा तिमल्सिना उम्मेदवार छन् । पौडेल र तिमल्सिनासँग एमालेबाट उम्मेदवार बनेका ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामीले प्रतिस्पर्धा गर्नेछन् । दर्लामी नेकपा माओवादी केन्द्रबाट एमालेमा आएकी हुन् ।

यसैगरी गण्डकीमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त र एमालेबाट उम्मेदवार बनेकी नवलपुरकी लीला पोखरेल थनेतबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीमै एमालेले खुला पुरुषतर्फ कास्कीका पुण्यप्रसाद पौडेल र दलित कोटामा बाग्लुङका गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ । गण्डकीमा गठबन्धनका तर्फबाट माओवादीले खुलामा सुरेश आलेमगर र दलित कोटामा भुवन सुनुवारलाई उम्मेदवार बनाएको छ ।

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा र एमालेका रामदयाल गुप्ता उम्मेदवार छन्। लुम्बिनीमै गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेसँग एमाले उम्मेदवार भारती खनालले प्रतिस्पर्धा गर्दैछिन् । लुम्बिनीमा दलित कोटामा एमालेले गुल्मीका कृष्णबहादुर सुनारलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै कणर्ाली प्रदेशमा गठबन्धनबाट खुलातर्फ नेकपा एकीकृत समाजवादीका उदय बोहरा र एमालेका चूडामणि शर्मा तथा महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङ र एमालेकी गंगा थापा महतले उम्मेदवारी दिएका छन् । अल्पसंख्यक कोटामा गठबन्धनका तर्फबाट माओवादीका राजकुमार साहसी र एमालेका पदमबहादुर माझीबीच प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायण मिश्र र एमालेका डिल्लीराज भट्ट तथा महिलातर्फ मदनकुमारी शाह (गरिमा) र एमालेकी सन्तोषकुमारी शर्माबीच प्रतिस्पर्धा हुनेछ । दलित कोटामा एमालेले बैतडीका नरेश विकलाई उम्मेदवार बनाएको छ ।

सबै प्रदेशमा एमालेभन्दा गठबन्धन दलका उम्मेदवारहरू मतभारका हिसाबले बलिया देखिएका छन् । त्यसैले यसपटक राष्ट्रियसभामा एमालेलाई आफ्नो स्थान सुरक्षित गर्न अप्ठेरो हुने भएको हो । गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताले गठबन्धन तीनै तहको आगामी निर्वाचनसम्म कायम रहने बताइरहेका छन् । कांग्रेसका केही नेताले भने गठबन्धनको भविष्य अनिश्चित रहेको बताउँदै आएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७