आधा युरोप केही हप्तामै ओमिक्रोन संक्रमित बन्ने डब्ल्युएचओको चेतावनी


२८ पुष २०७८, बुधबार
Omicron1641951579

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अबको केही हप्तामै आधा युरोप ओमिक्रोनबाट संक्रमित बन्ने चेतावनी दिएको छ । आउँदो ६ देखि आठ हप्ताभित्रै आधा युरोपले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको सामना गर्नुपर्ने चेतावनी दिइएको हो ।

डा. हान्स क्लुगले डेल्टा भेरियन्टको वृद्धि भइरहेका बेला ओमिक्रोनको पश्चिमदेखि पूर्वतर्फको लहरले यस क्षेत्रमा संक्रमण फैलाइरहेको बताए । यो प्रक्षेपण सन् २०२२ को पहिलो हप्तामा युरोपभरि रिपोर्ट गरिएका ७० लाख नयाँ केसहरूमा आधारित थियो । दुई साताको अवधिमा संक्रमितको संख्या दोब्बर भएको छ ।

पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ भाइरस फैलिएकाले युरोपेली र मध्य एसियाली मुलुकहरू ‘तीव्र दबाब’ मा रहेको डा. क्लुगले बताए । ‘प्रत्येक देशले अब कसरी कदम चाल्नुपर्छ भन्नेबारे उसको महामारीको अवस्था, उपलब्ध स्रोतहरू, खोप लगाइएको स्थिति र सामाजिक आर्थिक सन्दर्भद्वारा सूचित गर्नुपर्छ’, उनले थपे ।

हालैका अध्ययनहरूले ओमिक्रोनले पहिलेका भेरियन्टहरूले भन्दा गम्भीर रूपमा बिरामी पार्ने सम्भावना कम रहेको सुझाएका छन् । तर, ओमिक्रोन अझै पनि उच्च संक्रामक छ र पूर्ण खोप लगाएका मानिसलाई पनि संक्रमित पार्न सक्छ । संक्रमणमा भएको अत्यधिक वृद्धिले स्वास्थ्य प्रणालीलाई गम्भीर क्षति पुर्‍याएको छ ।

सोमबार बेलायतमा थप एक लाख ४२ हजार २२४ जना संक्रमित भएको पुष्टि भएको र कोरोनाका कारण ७७ जनाको मृत्यु भएको छ । धेरै अस्पतालहरूले कर्मचारीको अनुपस्थिति र कोभिडको बढ्दो दबाबका कारण ‘गम्भीर’ अवस्था सिर्जना भएको घोषणा गरेका छन् ।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले गएको हप्ता अस्पतालहरूका लागि जनवरी कठिन हुने चेतावनी दिएका थिए । पूर्वी युरोप पोल्यान्डमा महामारी सुरुभएयता एक लाख मानिसको कोभिडका कारण मृत्यु भएको छ । पोल्यान्डको मृत्युदर विश्वमै छैटौँ उच्च छ । त्यहाँका ४० प्रतिशत मानिसले अझै खोप लगाएका छैनन् । रुसका स्वास्थ्य अधिकारीले भाइरस नियन्त्रण गर्न पहल नगरिए दैनिक संक्रमितको संख्या एक लाख पुग्न सक्ने बताएका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७