कोभिड-१९ विरुद्ध खोप लगाउनेको चाप बढ्यो, ४० प्रतिशत ओमिक्रोन संक्रमित हुनसक्ने प्रक्षेपण


२८ पुष २०७८, बुधबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं । नेपालमा समेत विस्तारै कोरोना महामारी बढ्न थालेपछि काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा कोभिड-१९ विरुद्ध खोप लगाउनेको लामो भिड देख्न सकिन्छ ।

कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेसँगै र सरकारले आउँदो माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्कलगायत सार्वजनिक स्थानमा प्रवेश गर्दा होस् वा सरकारी निकायबाट दिइने सेवा प्राप्त गर्न कोभिड-१९ विरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गरेपछि काठमाडौं उपत्यका भित्र तोकिएका विभिन्न खोप केन्द्रहरुमा कोभिड-१९ विरुद्ध खोप लगाउन आउनेको चाप बढेको छ ।

1641977268 viber image 2022 01 12 14 08 00 938

सीमित संख्यामा तोकिएको खोप केन्द्र र सीमित संख्यामा खटाइएको जनशक्तिले पनि खोप केन्द्रहरुमा घन्टौंसम्म लाइन बस्नु पर्ने अवस्था अहिले छ । कोभिड-१९ संक्रमणको जोखिम कम गर्न बुधबारदेखि उपत्यककाका तीन वटै जिल्ला प्रशासनले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, राजनैतिक सभा सम्मेलन, मेला, महोत्सव जस्ता कार्य गर्न नपाउने नियम लागु गरेको छ ।

तर कोभिड-१९ विरुद्ध खोप लगाउन खोप केन्द्रहरुमा देखिएको भिडले स्वयं खोप लगाउन आउने सर्वसाधारण, स्वास्थकर्मी र भिड व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरु समेत कोभिड-१९ संक्रमणको जोखिममा उत्तिकै देखिन्छन् ।
४० प्रतिशत नागरिक ओमिक्रोन संक्रमित हुनसक्ने सरकारको प्रक्षेपण
सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या तीव्र गतिमा बढे पनि महामारीको तेस्रो लहर सुरु भएको स्वीकार गरेको छैन । यद्यपि स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन गरेको छ । ओमिक्रोनबाट ४० प्रतिशत नागरिक संक्रमित हुनसक्ने अनुमानसहित त्यही आधारमा स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राखेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पनि अझै संक्रमितको संख्या तीव्रगतिमा बढ्न सक्ने बताए । नेपालमा हालसम्म २७ जना कोभिड-१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । यद्यपि एक सातायता भेटिएका संक्रमितमध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको उनको भनाइ छ ।

संक्रमितमध्ये धेरै जनामा डेल्टा भेरियन्ट पुष्टि भए पनि छिमेकी राष्ट्र भारतमा ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेकाले संक्रमण फैलने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । पछिल्लो समय भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्या वृद्धि हुँदै गएकाले पनि संक्रमणको उच्च जोखिम बढेको हो ।

यता त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक तथा छातीरोग विषेशज्ञ डा. निरज बमले समयमै ओमिक्रोनको रोकथाम गर्न नसकेको खण्डमा चुनौतिपूणर् अवस्था सृजना हुनसक्ने बताए । पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालमा तुलनात्मक रुपमा संक्रमितको संख्या पनि बढ्दै गएको उनले बताए ।

हालसम्म नेपालमा २७ जनामा ओमिक्रोन पुष्टि भएको छ । देशभर ९ हजार ५ सय २२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । केही दिनयता सक्रिय संक्रमितको संख्या तीव्ररुपले बढेको छ । गत मंगलबार ५ हजार ९४ जना सक्रिय संक्रमित रहेकोमा मंगलबार (हिजो) सो संख्या ९ हजार ५ सय २२ पुगेको छ । मंगलबार एकै दिन २ हजार ४ सय ४४ जना नयाँ संक्रमित भेटिएका थिए । गत मंगलबार ३ सय ९३ जनामा मात्रै संक्रमण देखिएको थियो ।

छिमेकी मुलुक भारतमा संक्रमण बढ्नु नेपालका लागि निकै नै जोखिमपूर्ण हुने विज्ञहरुले औंल्याएका छन् । खुल्ला सीमा नाकाका कारण संक्रमितहरु ओहोरदोहोर गर्ने हुँदा संक्रमण फैलिने सम्भावना बढी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७