ससुरालीमै पत्नीको हत्यापछि आगो लगाएर भागेका युवक सात वर्षपछि समातिए


२८ पुष २०७८, बुधबार

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका-६ श्रीनगरमा पत्नीको हत्या गरी आगो लगाएर भागेका युवकलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर जिल्लास्थित ग्राम धन्सा घर भएका ३० वर्षीय सिकन्दर चमार उर्फ मुलायमलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

सिकन्दरलाई पुस २७ मा कपिलवस्तुको यशोधरा गाउँपालिका-६ स्थित नेपाल-भारत सीमानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।

कृष्णनगर नगरपालिका-६ स्थित श्रीनगर गाउँमा ससुराली आएका सिकन्दर चमारले २०७१ चैत १ मा पत्नी किस्लावती चमारलाई हत्या गरेर जलाएका थिए । फागुन ३० मा राति उनी पत्नीलाई साथमा लिएर ससुराली आएका थिए । सो रात खाना खाएर ससुरा सुखराम चमार गोठमा सुत्न गए । त्यसपछि पत्नीलाई गाउँको दक्षिण पश्चिमस्थित भिन्कन आरखको रहरको खेतमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि आगो लगाएर उनी भारत भागेका थिए ।

‘हत्यापछि जलाएर आरोपी भागेका थिए’ डिएसपी धर्मराज भण्डारीले भने, ‘घरबाट ३ सय मिटर पर जलेको अवस्थामा शव फेला परेको थियो ।’ मुलायम र किस्लावती चमारको विवाह भएको दुई वर्ष भएको थियो । मृतकका बुवा सुखरामका अनुसार मुलायम विवाहेत्तर सम्बन्धमा थिए । सो सम्बन्धका कारण उनले आफ्नी छोरीको हत्या गरेको सुखरामले प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७