युवतीको बलात्कार र हत्याका आरोपी २० वर्षपछि पक्राउ


२९ पुष २०७८, बिहीबार
1641991947 pakrau

इलाम । इलाम प्रहरीले एक युवतीको बलात्कार र हत्याका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ । सूर्योदय नगरपालिका-३ का ४१ वर्षे गोरे भनिने मनकुमार राईलाई प्रहरीले घटनाको २० वर्षपछि पक्राउ गरेको हो । २०५८ साल माघ ६ गते स्थानीय १८ वर्षीया रोजिना राईको हत्या भएको थियो । रोजिनाको हत्यापछि फरार रहेका मनकुमारलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पशुपतिनगर-३, जिल माइतीघर भएकी रोजिनाको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । पशुपतिनगरकै कन्याम घर भएकी रोजिनाको माइत भएको बेला हत्या भएको थियो । अनुसन्धानका क्रममा मनकुमारले उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

‘मनकुमारले आफूले हत्या गरेको स्वीकार गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी गंगाबहादुर थापाले भने, ‘घटनाको प्रकृति, पहिलाको अनुसन्धान र आरोपीले गरेको बयान पनि मिलेको हुनाले हत्या उनीबाटै भएको देखिन्छ । थप अनुसन्धान भइरहेको छ ।’

घटना विवरणअनुसार पशुपतिनगर-३, जिलकी भीममाया राईको गाईगोठमा काम गरिरहेका बेला रोजिनासँग मनकुमारको भेट भएको थियो । रोजिनाकै दिदी चमेलीलाई खेताला बोलाउन जानेक्रममा भीममायाको गोठमा दुई जनाको भेट हुँदा भीममाया घरमा थिइनन् । प्रहरीका अनुसार रोजिनाकै घर जाने भएकाले मनकुमारले रोजिनालाई आफूसँगै जान आग्रह गरे । उनले मानिनन् । मनकुमारले जबरजस्ती तानेर लगे ।

अलि पर पुगेपछि रोजिना सडकबाट लडिन् । तल बाँसघारीमा पुगिन् । ‘रोजिना रुन, चिच्याउन थालेपछि मनकुमारले आफूमाथि गलत आरोप लाग्ने देखेर रोजिनासँगै रहेको हँसियाले उनकै घाँटी रेटेर हत्या गरेको देखिन्छ,’ डिएसपी थापाले भने, ‘त्यसबेला आफूले यौनजन्य सोच समेत राखेको संकेत मनकुमारले बयानमा गरेका छन् ।’

रोजिनाको पोस्टमार्टम रिपोर्टमा यौन गतिविधिबारे केही नलेखिएपनि घटना र शवको प्रकृति मुचुल्कामा उनको यौनांगबाट रगत आएको उल्लेख रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७