हराइरहेका युवकको शव ओढारमा गाडिएको अवस्थामा फेला, हत्या आरोपमा शिक्षक पक्राउ


२९ पुष २०७८, बिहीबार
Baitadi murder case

बैतडी । मंसिर १५ गतेदेखि हराइरहेका एक युवकको शव ओढारमा गाडिएको अवस्थामा फेला परेको छ । बैतडीको सुर्नया गाउँपालिका-६ खर्काधारका ३० वर्षीय डम्बर अवस्थीको शव घर नजिकैको गुफा (ओढार) मा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आफूहरू घटनास्थलमै रहेको र शव सडेको अवस्थामा भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी दिएका छन् । स्थानीय हरिश भनिने हरि अवस्थीले देखाएको स्थानमा शव भेटिएको प्रहरी नायव उपरीक्षक पालले बताए । हरि अवथीलाई केही समयअघि विप्लव समूहले आफूलाई अपहरण गरेको थियो । उनलाई बाँकेबाट प्रहरीले सकुशल उद्धार गरेको थियो ।

घरायसी रिसइबीका कारण आफूले नै डम्बरको हत्या गरेको हरिशले स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि हरिशले नै हत्या गरेको हुनसक्ने धेरै आधारहरु फेला पारेको छ । ‘हरिशले नै लोकेशन दिएकाले उनले नै हत्या गरेको खुल्न आएको छ,’ प्रहरी नायव उपरीक्षक पालले भने, ‘शव निकालेर परीक्षणका लागि अस्पताल ल्याउने तयारी भएको छ ।’

हत्या एक्लैले गरेको वा अरु पनि संलग्न रहेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक समेत रहेका जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७