फिल्म खेल्ने सपना हुनेले थिएटरमा नअलमलिनू : विपिन कार्की


२९ पुष २०७८, बिहीबार
bipin karki

काठमाडौं । अभिनेता विपिन कार्कीले चलचित्रमा अभिनय गर्न जानेलाई थिएटरमा नअलमलिन सुझाव दिएका छन् । उनले आफ्नै अनुभव प्रस्तुत गर्दै थिएटर र चलचित्र फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहनेले फिल्मकै माध्यम समात्न सुझाव दिए ।

‘हामीलाई पनि शुरुमा यी दुई विधामा यतिविधि भिन्नता होला जस्तो लागेको थिएन । तर, दुवैमा धेरै भिन्नता रहेछ । अहिले छड्केको विन्दु हेर्दा मैले कति धेरै लाउड गरेछु भन्ने महसुस हुन्छ’, अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औं ब्याचका विद्यार्थीसँग अन्तरक्रिया गर्दै विपिनले भने ।

गुरुकुल नाटक घरमा नाटकको प्रशिक्षण लिएका विपिनले ‘आचार्य’ फिल्ममा सानो भूमिकामा अभिनय गर्दै ठूलो पर्दाको यात्रा शुरु गरेका थिए । ‘लुट’ मा पनि सानो भूमिकामा मै देखिएका विपिनले ‘छड्के’ गरेको विन्दु नामको भूमिकाले धेरैको मन जितेका थिए । तर, अलि पछि रिलिज भएको ‘पशुपतिप्रसाद’ मा गरेको भष्मे डनको भूमिकाले भने उनलाई अभिनयमा बहुआयामिक कलाकारको रुपमा स्थापित गरेको थियो ।

आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ ? भन्ने विद्यार्थीको प्रश्नमा विपिनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आ-आफ्नै तरिका हुन्छ । म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको शुरुवात गर्छु । म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ । यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु ।’

विपिनले चलचित्रमा सफल हुन स-साना लक्ष्य लिन र ती पूरा भएपछि अर्को लक्ष्य लिन सुझाएका थिए । ‘शुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो । तर, सौगात दाइ (सौगात मल्ल) फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो । फिल्ममा पनि मैले सानो भूमिकाबाट शुरु गरें र यसमा पनि खुशी थिएँ । मेरो तपाईहरुलाई यही सुझाव छ, सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्’, उनले विद्यार्थीलाई सुझाएका अस्करले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७