प्रकाशमानको प्रश्न : आफ्नै नेतालाई हराएका पनि कांग्रेस हुने भएपछि पार्टी चल्छ ?

‘देउवालाई सघाउँदा तथानाम गाली गरेर मेरो चरित्र हत्या गरियो’


२९ पुष २०७८, बिहीबार
prakashman singh

भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको स्पष्ट पारेका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार गरेको झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका हुन् । नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेण्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेण्डाअनुसार मत नदिएको गुनासो गरे ।

पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेको उनले बताए । ‘दुई एजेण्डा बोकेर म यस पटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ । दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्‍यो । त्यो एजेण्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फर्स्ट राउन्डको म्याण्डेट मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो । डेमोक्रेटिक पार्टीको डेमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्याण्डेट त मान्नुपर्‍यो नि ।’

उनले पहिलो चरणको निर्वाचनको म्यान्डेट मान्दा धेरैको टाउको दुःखेको पनि टिप्पणी गरेका छन् । ‘मैले त्यो म्याण्डेट मान्यो भनेर कपाल दुखाई छ यहाँ,’ नेता सिंहले भने । नेता सिंहले चौधौं महाधिवेशनको दोस्रो चरणमा देउवालाई सघाउँदा आफ्नो चरित्र हत्या गरिएको पनि गुनासो गरे ।

’पार्टीमा शेरबहादुर देउवालाई सहयोग गर्‍यो भनेर मविरुद्ध अनावश्यक भ्रम छरियो’, उनले भने, ‘मेरो चरित्र हत्याको प्रयास पनि गरियो। सामाजिक सञ्जालमा तथानाम गाली गरिएको छ । लेखिएको छ ।’ उनले आफू गणेशमान पुत्र भएकै कारण मात्रै राजनीतिमा नआएको पनि प्रष्ट्याए । तल्लो तहदेखि नै आफू संघर्ष गरेर कांग्रेसको राजनीतिमा स्थापित हुँदै आएको सिंहले जिकिर गरे ।

उनले पार्टीभित्रैका नेतालाई हराएकाहरु पनि र जितेकाहरू पनि कांग्रेस नै हुने चलनले कांग्रेस अघि नबढ्ने पनि बताए । ‘आफ्नै नेतालाई हराएका पनि कांग्रेस हुने, जितेका पनि कांग्रेस नै हुने, यसरी पार्टी चल्छ ?’, उनले भने, ‘राजनीति मेवा खाने क्षेत्र होइन । दल भनेको सेवा गर्ने हो । अब म यति वर्ष जेल गएँ भन्दैमा मतदाताले मान्दैनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७