२० वर्षसम्म पनि निक्षेप धनी नआए रकम सिधैं राष्ट्र बैंकको कोषमा जाने


२९ पुष २०७८, बिहीबार
bank 1

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप खातामा रहेको रकम २० वर्षसम्म दाबी नभएमा बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले २० वर्षसम्म बुझ्न नआएको (अनक्लेम्ड) निक्षेप बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १११ को उपदफा (३) र दफा ११२ को उपदफा (३) बमोजिम २० वर्षसम्म लिन/बुझ्न नआएका/दाबी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट यस बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्ने सम्बन्धमा देहायबमोजिम गर्न/गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ’, राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै भनेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११२ को उपदफा (१) बमोजिमको रकम २० वर्षसम्म लिन/बुझ्न नआएमा सो रकम राष्ट्र बैंकको बैंकिड विकास कोष (अनक्लेम्ड डिपोजिट)अन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्न निर्देशन दिएको हो । यसरी बैंकिड विकास कोषमा जम्मा भएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को प्रक्रिया पूरा गरी बैंकिङ विकास कोषमा जम्मा गरिसकेको निक्षेप रकमउपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी दाबी परेमा सम्बन्धित बैंक तथा वितीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेस गर्न सक्नेछ ।

आवश्यक कागजातसहित दाबी परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिनाब्याज रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । यसरी जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७